आजबाट ७५ जिल्लामा दादुरा-रुवेलाविरुद्धको खोप, २५ दिनसम्म चल्ने

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । आजबाट दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई लिएर सरकारले ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।

चैत ७ गतेसम्म जाजरकोट र पश्चिम रुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन हुनेछ ।  २५ दिनसम्म चल्ने खोप अभियानमा १५ वर्ष मुनिका सबै बालबालिकाका लागि दादुरा–रुवेलाविरुद्धको खोप दिइनेछ ।

भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसंक्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ ।

खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

गौतमका अनुसार नौ महिनादेखि पाँच वर्षमुनिका २१ लाख ३० हजार ६८३ बालबालिका र पाँच वर्षदेखि १५ वर्षमुनिका ३६ लाख १२ हजार ३१० बालबालिका गरी कूल ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाइने छ । खोप अभियानका लागि देशभरि ४८ हजार ७९८ खोप केन्द्र रहेका छन । यस्तै ४९ हजार ९३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९०६ जना स्वयम्सेवक परिचालन गरिने छ ।

उनले खोपका लागि सबै तयारी पूरा गरिएको जानकारी दिँदै सातै प्रदेशमा गएर खोपबारे स्वास्थ्यकर्मीलाई तालिमसमेत दिइएको बताए ।

दादुरा–रुवेला भएका बेला ज्वरो तथा शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै कान पाक्ने, कान नसुन्ने, निमोनिया भएर श्वासप्रश्वासमा समस्या हुने गर्दछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्