मादी गाउँपालिकाको स्थापना दिवसमा अध्यक्ष कप भलिबल प्रतियोगिता

समाचार बिज
  • ख-
  • ख+

कास्कीको मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा प्रथम पालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि पालिकाकाले स्थापना दिवसको अवसरमा यही फागुन २७ गतेबाट २९ गतेसम्म भलिबल प्रतियोगिताको आयोजना गरिएको पालिकाका अध्यक्ष देविजङ्ग गुरुङले जानकारी दिए ।

गाउँपालिकाले आठौं स्थापना दिवसको अवसरमा ‘खेल अभियान, पर्यटन र संस्कृतिको पहिचान’ भन्ने मूल नारासहित भलिबल प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भलिबल प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख रुपैयाँ नगद, शिल्ड,मेडल र प्रमाण पत्र, द्धितीय हुनेले दुई लाख रुपैयाँ, मेडल र प्रमाणपत्र, तुतीय हुनेले एक लाख रुपैयाँ, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।भलिबल प्रतियोगितामा सहभागी हुनको लागि टिम दर्ता गर्नुपर्ने र दर्ता शुल्क ७ हजार ५०० रुपैयाँ रहेको जानकारी दिइएको छ ।

यस्तै पालिका भित्र रहेका विद्यालयमा कार्यरत शिक्षकहरुबीच हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । हाजिरी जवाफ मा प्रथम हुनेले १५ हजार, द्धितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजार प्राप्त गर्ने आयोजक पालिकाले जनाएको छ ।

स्थापना दिवसको अवसरमा पालिकामा उत्कृष्ट कार्य गर्ने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन भुमिका खेल्ने उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, स्वयंसेविका, कृषक, उपभोक्ता समिती, टोलसुधार समिति, सहकारी तथा अन्य महत्वपूर्ण व्यक्तिहरुलाई नगदसहित सम्मान गरिने बताइएको छ ।

यस्तै भलिबल, हाजिरी जवाफसँगै अन्य कार्यक्रमहरु पनि हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । जसमा गाउँपालिकाका प्रत्येक वडाबाट स्थानीय स्तरमा प्रचलित साँस्कृतिक झाँकी प्रर्दशन, स्थानीय कलाकारको प्रस्तुति, जनप्रतिनिधिहरुको तर्फबाट साँस्कृतिक कार्यक्रम, जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध अझ प्रगाढ बनाउन मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने बताइएको छ ।

स्थापना दिवसमा पालिकामा रहेका जेष्ठ नागरिकहरुबाट गरम पिता र मातालाई सम्मान गरिने पनि जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्