क्यानडाविरुद्ध नेपालको सनसनीपूर्ण प्रदर्शन, ७ रनले विजयी, रोहितको ४ विकेट

समाचार बिज
  • ख-
  • ख+

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपाल निर्धारित ५० ओभर पूरा खेली २ सय २४ रनमा अलआउट भएको थियो । प्रगत सिंह र निकोलस कीर्तनले अर्धशतक प्रहार गरे पनि क्यानडा ४७.५ ओभरमा २ सय १७ रनमा अलआउट भयो ।

प्रगत र कीर्तनले तेस्रो विकेटमा ७९ रनको ठोस साझेदारी गरी क्यानडालाई विजयतर्फ लम्काएका थिए । प्रगतले ५८ बल खेली ९ चौका प्रहार गर्दै ५० रन बनाए । नेपालका कप्तान रोहित पौडेलले उनलाई लङ अफमा ललित राजवंशीको हातबाट क्याच गराए । पवन सर्राफको बलमा बोल्ड हुनुपूर्व कीर्तनले ९९ बल खेली ७ चौका प्रहार गर्दै ६८ रन बनाए ।

हर्ष ठाकुरले ३२ रनको उपयोगी इनिङ्स खेले । उनले ४३ बल खेली ३ चौका प्रहार गरे । यसपछि रोहितले जादुमयी बलिङ गर्दै नेपाललाई असम्भव जस्तै स्थितिबाट विजय दिलाए । यसअघि ५४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा कुनै विकेट नलिएका रोहितले ४ विकेट लिँदै नेपालको विजयमा नायक बने ।

प्लेयर अफ द म्याच रोहितको बलिङपछि १७४–३ को स्थितिमा रहेको क्यानडाले ४४ रनमा आफ्नो पछिल्लो ७ विकेट गुमाएको थियो । ललितले ८ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए ।

ओपनरद्वय नविनित ढालिवाल ६, एरोन जोन्सन २० रन बनाई आउट भएका थिए । डेब्यु गर्दै गरेका रिजन ढकालले आफ्नो पहिलो ओभरमै ढालिवाललाई आउट गरेका थिए । सोमपाल कामी र कुशल मल्लले पनि १/१ विकेट लिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यसअघि कुशल भुर्तेल र आसिफ शेखले नौ ओभरमा ४८ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । आसिफलाई उदय भगवानले ८ रनमा आउट गरे । रोहित पनि टप एज लागि ८ रनमै आउट भए ।

भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो सातौं अर्धशतक बनाए । उनले ५८ बल खेली ९ चौका र १ छक्कासहित ६२ रन बनाए । भीम सार्की २६ बल खेली २ चौका प्रहार गरि १७ र कुशल मल्ल ३२ बल खेली १ चौका र १ छक्का प्रहार गरि २० रनमा आउट भए ।

आरिफ शेख र पवनले छैटौं विकेटमा ३२ रनको साझेदारी गरे । राष्ट्रिय टोलीमा फर्किएका पवनले ३४ बल १ चौका प्रहार गरी १५ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको उच्च स्कोर हो ।

लगातार दुई चौका प्रहार गरेका आरिफ त्यसपछिको अर्को बलमा भगवानको बलमा इन साइड एज लागेर बोल्ड भए । आरिफले ५० बल खेली ४ चौका प्रहार गरि ३८ रन बनाए ।

सोमपाल कामी र सूर्य तामाङले आठौं विकेटमा ३७ रनको साझेदारी गरी नेपाललाई सम्मानजनक स्कोरमा पुर्‍याए । सोमपालले १ चौका र २ छक्का प्रहार गरी २३ बलमा २७ रन बनाए । सूर्य १० रनमा अविजित रहे । रिजन ४ र ललित राजवंशी १ रन बनाई लगातार बलमा आउट भए ।

क्यानडाबाट भगवानले ८ ओभरमा १ मेडन राख्दै ४० रन खर्चेर ३ तथा कप्तान साद बिन जाफर र इश्वरजोत सोहीले २/२ विकेट लिए ।

शृंखलाको दोस्रो खेल शनिबार र तेस्रो सोमबार हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्