कांग्रेस बुधबारदेखि वडा संवादमा

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । नेपाली कांग्रेसले बुधबारदेखि वडा संवाद शुरु गरेको छ । समुदायमा कांग्रेस अन्तर्गत पार्टीको निर्णयअनुसार बुधबारदेखि सबै कांग्रेस नेताहरु वडा सम्वादमा जुटेको महामन्त्री गगनकुमार थापाले बताएका छन् ।

उनले समुदायमा कांग्रेस अभियान अन्तर्गत नेताहरु, केन्द्रीय प्रतिनिधिहरु जिल्ला जिल्लामा गएको र अहिले १० जिल्ला बाहेकका (हिमाली जिल्ला बाहेक) ६७ जिल्लामा पठाएको बताए ।

जिल्लामा खटिएका प्रतिनिधिहरुले १३ देखि १५ गतेसम्म बैठक गरेर राखेको र त्यसको अभिमुखीकरण गरी वडा वडामा प्रतिनिधिहरु पठाइसकेको उनी बताए ।

कांग्रेसको कार्यतालिकाअनुसार शहीद दिवसको दिन १६ गते देशैभरका सबै वडाहरुमा पहिलो कार्यक्रम भएको छ ।

शहीद दिवसको दिन एउटा संकल्प गर्दै पार्टीको आन्तरिक भन्दा पनि सामाजिक कार्यक्रमहरु गर्ने भन्ने पार्टीको परिपत्र अनुसार सबैजसोले सामाजिक कार्य गरेको पनि नेता थापाले बताए ।

केही ठाउँमा भने कसैले १८ गते, कसैले २० गतेका लागि सामाजिक कामलाई सारेकोसमेत उनले जानकारी दिए ।

सो क्रममा उनी आफू मेची महाकाली यात्रालाई छोटो समयका लागि विश्राम दिएर वडाको कार्यक्रममा सहभागी हुन जनकपुरबाट काठमाडौँ आएका थिए ।

सो क्रममा काठमाडौँ वडा नम्बर ३० मा सामाजिक काम अन्तर्गत सम्पदा सरसफाइ कार्यक्रममा सहभागी भए । भैरवस्थान मन्दिर आफूहरुको विशेष सम्पदा भएको भन्दै नेता थापाले सरकारसफाइमा वडाका नेता कार्यकर्ता खटिएको पनि बताए ।

सो क्रममा देशभरका वडाहरुमा कतै सरसफाइ, कतै रक्तदान, कतै वृक्षरोपण लगायतका काम भएको उनले बताए ।

नेता थापाले बुधबारबाट संवाद शुरु भएको र फरक ठाउँमा फरक किसिमको तर कार्यक्रमको सार एउटै भएकोसमेत उल्लेख गरे ।

संवादका क्रममा नेताहरुले नागरिकसँग छलफल गर्ने, संवाद गर्ने र विभिन्न सेवा केन्द्रहरुमा पुगेर अवलोकन गर्नेसमेत बताए ।

यो संवाद अभियानमा नेताहरुले स्थानीयका गुनासा, सुझाव, समस्या, समाधानका उपाय, कांग्रेसप्रतिको धारणा, गर्नुपर्ने कामका प्राथमिकता लगायतका विविध विषयमा छलफल हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्