सांसदहरूलाई रविले दिए होमवर्क ः ‘रिजल्ट’ निकाल्न बैठक आह्वान

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । संसदको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी हिउँदे अधिवेशनमा तयारीका साथ प्रस्तुत हुनका लागि आवश्यक छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।  बैठक शुक्रवार बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा राखिएको हो ।

कानुन बनाउन अघिल्लो संसद् अधिवेशन प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै रास्वपाले अब भने कार्य योजनासहित दबाब आवश्यक रहेकाले सोहीअनुसार प्रस्तुत हुने तयारी गरेको हो । जसअनुसार सभापति रवि लामिछानेले प्रभावकारी कार्य योजना बनाउन आफ्ना सांसदहरूलाई तीन बुँदे लिखित प्रश्न पठाएर बैठकअघि ‘होमवर्क’दिएका छन् ।

पार्टी प्रवक्ता मुकुल ढकालले तीन बुँदे प्रश्नमाथि छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार पार्टीको वाचापत्रमा उठाएका मुद्दा र अधिवेशनमा बन्नुपर्ने कानुनबिच कसरी तालमेल ल्याउन सकिन्छ भन्ने विषयमाथि बैठकमा छलफल हुनेछ ।

‘सभापतिले सबै सांसदलाई प्रश्न सोधेर पठाउनुभएको छ । त्यो प्रश्नको उत्तर लिएर आउन सबैलाई निर्देशन दिनुभएको छ । संसदको अधिवेशन माघ २२ बाट सुरु हुँदै छ । संसदको अधिकतम प्रयोग गर्नका लागि विशेष मुद्दा छनोट गर्न कार्य योजना बनाउन आवश्यक छ’, उनले भने, ‘तत्काल कानुन बनाउन प्रभावकारी भूमिका, नागरिकका समस्या समाधान र संसदीय दलको कार्य योजना बनाउन बैठक बोलाइएको हो ।’

सांसदलाई सोधिएको प्रश्नको पहिलो नम्बरमा ‘तत्काल बन्नुपर्ने ४० वटा कानुन तपाईँले प्रतिनिधित्व गर्ने समितिमा कुन कुन पर्छन् ? तीमध्ये कुन कुन कानुन प्रक्रियामा छन् ?’ भनेर सोधिएको छ । यसै गरी दोस्रो नम्बरमा ‘बन्नुपर्ने कानुन हाम्रो वाचा पत्रको कुन मुद्दामा सम्बोधन गर्न सकिन्छ ? र तेस्रो नम्बरमा ‘तपाईँले संसदमा उठाउन चाहेका नागरिकका मुद्दा र समस्या के के हुन् ?’ भन्ने प्रश्न सोधिएको छ ।

अत्यावश्यक कानुन निर्माण, वाचा पत्रमा समावेश भएको मुद्दासँग तालमेल र नागरिकका समस्याका विषयमा फारम भरेर पठाउन सभापति रविले निर्देशन दिएको ढकालले बताए । संसदको हिउँदे अधिवेशन माघ २२ बाट सुरु हुँदै छ । संसदमा रास्वपाका २१ जना सांसद छन् ।

रविले सांसदलाई होमवर्क दिएको प्रश्नको व्यहोराः

माघ २२ गतेबाट सुरु हुने संसद् अधिवेशनमा अधिकतम प्रयोग गर्न विशेष मुद्दा छनोट गर्न कार्य योजना बनाउन आवश्यक छ । कानुन बनाउन अघिल्लो अधिवेशन प्रभावकारी हुन नसकेको पृष्ठभूमिमा कार्य योजना बनाउन दबाब आवश्यक छ । तत्काल बनाउन पर्ने कानुको सूची यसैसाथ समावेश गरिएको छ । यस्तै वाचा पत्रमा उल्लेखित मुद्दा कानुन बनाउन कसरी समावेश गर्न सकिन्छ भन्नेमा निर्णायक पहल गर्नुपर्ने छ । नागरिकले व्यहोर्दै आएका समस्या  समाधान गर्नुपर्नेछ । तसर्थ संसदीय दलको कार्य योजना बनाउनका लागि फारम भर्न लगाइएको छ ।

१. तत्काल बन्नुपर्ने ४० वटा कानुन तपाईँले प्रतिनिधित्व गर्ने समितिमा कुन कुन पर्छन् ? तीमध्ये कुन कुन कानुन प्रक्रियामा छन् ?

२. बन्नुपर्ने कानुन हाम्रो वाचा पत्रको कुन मुद्दामा सम्बोधन गर्न सकिन्छ ?

३. तपाईँले संसदमा उठाउन चाहेका नागरिकका मुद्दा र समस्या के के हुन् ?

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्