संसद् सचिवालयलाई चीनले दियो ८ वटा बिजुली गाडी

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । चीनले नेपालको संघीय संसद्का लागि भनेर ८ वटा बिजुली गाडी उपहार दिएको छ । झन्डै साढे ३ करोड रुपैयाँ पर्ने ती गाडी सोमबार रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको हो । एसयुवीको ३ वटा कार र इसिक्स ६ वटा गाडी आपसी सहयोग आदानप्रदान अन्तर्गत दिइएको हो । तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा अघिल्लो वर्ष भदौ २७ गतेदेखि ३० गतेसम्म ३ दिने नेपाल भ्रमणमा आएका चिनियाँ समकक्षी लि चान सु बीच आपसी सहयोग आदानप्रदानबारे छलफल भएको थियो । सोही भेटपछि चीनले नेपालको संसदलाई विद्युतीय कार उपलब्ध गराएको हो ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका समकक्षी बीचको छलफलका क्रममा चीनको तर्फबाट ती गाडिहरु सहयोग स्वरुप उपलब्ध भएको जानकारी दिए ।  सेन्सरजडित यी विद्युतीय कारहरु सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, राष्ट्रियसभा उपाध्यक्ष, महासचिव लगायत संघीय संसदका उच्च अधिकारीको सवारीमा प्रयोग गर्ने संसद सचिवालयको तयारी छ । तर यसबारे निर्णय भने नभइसकेको संघीय संसद सवारी विभाग प्रमुख उपसचिव सुरजकुमार दुराले जानकारी दिए ।

एकपटक बिजुली चार्ज गरेपछि ईसिक्स कार झन्डै ४ सय किलोमिटर र  एसयुवी कार साढे ३ सय किलोमिटर गुड्ने जनाइएको छ ।  चीन सरकारले बिजुली कार दिएपनि चार्जिङ गर्ने सामान नदिएका कारण सो सामान छुट्टै खरिद गर्नुपर्ने अवस्था रहेको संसद सचिवालयका कर्मचारीले जानकारी दिए । चार्जरका लागि झन्डै ४५ देखि ५० हजार हाराहारी खर्च लाग्ने अनुमान गरिएको छ ।

विद्युत चार्जिङको व्यवस्थाका लागि नेपाल विद्युत प्राधिकरणमा गएर कुरा गर्दा ५० लाख बजेट व्यवस्थापन गर्न भनेपछि रित्तो हात फर्किएको सचिवालयका कर्मचारीले बताए । अहिले सहयोगमा पाएका ती गाडीहरु सोही गाडी उत्पादक कम्पनीको काठमाडौँको गौरीघाटमा रहेको शोरुम तथा सर्भिस सेन्टरमा लगेर चार्ज गर्न थालिएको छ ।

यता नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले सिंहदरबारभित्रै ५ वटा चार्जिङ स्टेशन रहेकोले बिजुली गाडि चार्जका लागि समस्या नपर्ने बताए । संसद सचिवालयका कर्मचारीले यसबारे कुरा गर्न आफूलाई नभेटेको बताउँदै समस्या परेमा प्राधिकरण सहयोग गर्न तयार रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्