पद्म नर्सिङ्ग हाेममा सुरक्षीत प्रसुती सेवा सुरु

समाचार बिज
  • ख-
  • ख+

पद्म नर्सिङ्ग होम प्रा.लि. पोखरा–३, नदिपुरमा सुरक्षीत प्रसुती सेवा सुरु भएको छ । प्रा.लि. मा आईतवार शल्यक्रियाको माध्यमबाट पहिलो पटक बच्चाको जन्म गराईएको हो ।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर महेन्द्रराज पाण्डे, वरिष्ठ बालरोग तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर रामचन्द्र बास्तोला एवं एनेस्थेसियालोजिष्ट डाक्टर अनिल न्यौपाने र डाक्टर बसन्त कोइराला लगायतको टिमद्वारा अप्रेसनको माध्यमबाट पद्म नर्सिङ्ग होम प्रा.लि. नदिपुरमा पहिलो बच्चाले जन्म लिएको छ ।

पोखरा– १७ बिरौटा निवासी रमेश भट्टराई र रेखा बराल भट्टराईले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिनुभएको हो । अप्रेसनको माध्यमबाट जन्मिएको २.५ केजी तौल भएको बच्चा स्वस्थ रहेको बरिस्ठ बाल रोग बिषेशज्ञ डाक्टर बास्तोलाले बताउनुभयो । “जन्मने बित्तिकै बच्चालाई आमाको दूध खुवाईएको छ बच्चा स्वस्थ छ । बच्चालाई अहिले आमाको दुधमा नै जोड दिन अभिभावकलाई आग्रह गरिएको छ । “उहाँले भन्नुभयो । यस्तै अप्रेसन पछि आमाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बरिस्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

पहिलो पटक पद्म नर्सिङ्ग होममा जन्म लिएको बच्चा भएकोले उक्त बच्चालाई १५ बर्ष हुँदा सम्म ओपिडी शुल्क छुट गरिएको प्रा.लि.का अध्यक्ष इन्दिरा शर्मा सुबेदीले जानकारी दिनुभयो । “पोखराको न्युरोडबाट नदिपुरमा सरिसके पछि हामीले नयाँ सुबिधाहरु थप गर्दै गईरहेका छौ आज पहिलो पटक यस संस्थामा नवजात शिशुले जन्म लिनुभएको छ । हामीले सफलता पुर्वक यो काम पनि गरेका छौ । यस सस्थामा जन्मिएको पहिलो बच्चालाई १५ बर्ष सम्म ओपिडी शुल्क नलिने निर्णय गरेको छौ । “ उहाँको भनाई छ ।

बिगत २८ बर्ष देखि पोखराको न्युरोडमा भाडाको भवनमा संचालनमा रहेको यस क्षेत्रकै पहिलो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा.लि. गत असोज देखि पोखरा –३, नदिपुर स्थित आफ्नै सुबिधा सम्पन्न भवनबाट पुर्ण रुपमा संचालनमा आएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्