दुगडबाट खोसियो भेस्पा र अप्रिलिया स्कुटरको बिक्रेता, नयाँ बिक्रेतामा भीमसरिया ग्रुप

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। दुगड ग्रुपबाट भेस्पा र अप्रिलियाको स्कुटरको आधिकारिक बिक्रेता खोसिएको छ। दुगडबाट एकपछि अर्को आधिकारिक बिक्रेता खोसिने क्रममा भेस्पा र अप्रिलियाको बिक्रेता खोसिएको हो।

केही महिना अघि दुगडबाट रोयल इन्फिल्ड त्रिवेणी समूहले खोसेको थियो। दुगड ग्रुपले राम्रो बजारीकरण गर्न नसकेको तथा सर्भिसमा राम्रो सेवा दिन नसकेको कारण देखाउँदै उत्पादक कम्पनीले नयाँ बिक्रेता खोजेको हो।

भेस्पाले नयाँ आधिकारिक बिक्रेतामा भीमसरिया ग्रुप अन्तर्गतको डेल्टा अटोकर्पलाई नियुक्त गरेको ग्रुपका निर्देशक पुलकित भीमसरियाले बताए।

‘हामीले लामो समयदेखि अटोमोबाइल क्षेत्रमा प्रवेश गर्ने योजना बनाएका थियौं। त्यहीअनुसार अटोमोबाइल क्षेत्रमा भेस्पा र अप्रलिया ब्रान्डबाट सुरुवात भएको छ,’ उनले  भने, ‘हामी शुक्रबारदेखि नेपालमा भेस्पा र अप्रिलियाको आधिकारिक बिक्रेतामा नियुक्त भएका छौं।’

उनका अनुसार ग्रुपले डेल्टा अटोकर्पबाट भेस्पा र अप्रिलियाको बिक्री तथा बिक्रीपछिको सर्भिसलाई निरन्तरता दिनेछ। ‘हामीले यसका लागि मुख्य आवश्यक पर्ने सर्भिस सेन्टरको निर्माणलाई प्राथमिकता दिएर अगाडि बढेका छौं,’ उनले भने, ‘सर्भिस सेन्टर निर्माण गर्ने काम आधा भएको छ। सामानहरु बाहिरबाटै आउँदै छन्। त्यहीअनुसार सबै कुराहरु सेट गरिँदैछ।’

आफूहरुले मोबाइल बिक्री गरिरहेको भएर बिक्रीपछिको कस्तो जिम्मेवारी हुनुपर्छ भन्ने कुराको राम्रो ज्ञान भएको उनले बताए। त्यहीअनुसार कम्पनीले शोरुम र सर्भिस सेन्टर विस्तारमा राम्रो गर्ने योजना बनाएको उनी बताउँछन्।

भीमसरिया ग्रुपले लामो समयदेखि नेपाली बजारमा हुवावे, लेनेभो, वानप्लस, इन्फिनिक्स ब्राण्डका मोबाइल तथा ग्याजेटहरू बिक्री वितरण गर्दै आएको छ। सो ग्रुपका नेपालमा विभिन्न १२ स्थानमा योयोसोका रिटेल शोरुमहरू संचालनमा छन्।

भेस्पा इटालियन ब्रान्ड हो। सन् १९४६ देखि यो ब्रान्ड उत्पादन हुन थालेको थियो। भेस्पाको नेपालमा ७ वटा मोडलका स्कुटरहरु उपलब्ध रहेका छन्। जसमा सबैभन्दा कम मूल्यको भेस्पा नोटी १२५ रहेको छ। यसको मूल्य २ लाख ९१ हजार रहेको छ।

यस्तै, भेस्पा एलएक्स १२५/१५० को मूल्य पनि २ लाख ९१ हजार रुपैयाँ रहेको छ। एलिगेन्ट १५० मोडलको ४ लाख ३३ हजार रुपैयाँ, भेस्पा भीएक्सएल १२५ को ३ लाख ४२ हजार रुपैयाँ र १५० सीसीको ३ लाख ९५ हजार रुपैयाँ रहेको छ।

यसैगरी, भेस्पा एसएक्सएल मोडलको मूल्य नेपाली बजारमा ३ लाख ५६ हजारदेखि ४ लाख ११ हजार रुपैयाँ रहेको छ। यस्तै, भेस्पा एसएक्सएल म्याटे १२५ को ३ लाख ५८ हजार र १५० सीसीको ४ लाख १३ हजार रहेको छ।

दुगडको एकपछि अर्को बिक्रेता खोसियो

जापानी कार निर्माता निशान पनि दुगड ग्रुपबाट सन् २०१७ मा आधिकारिक बिक्रेता खोसिएको थियो। शारडा ग्रुपले यो गाडी खोसिएपछि दुगडले मुद्दामामिला पनि गरेको थियो। तर अन्तिममा शारडाले नै निशान लिन सफल भयो।

३० वर्षसम्म निसान गाडीको कारोबार गरिरहेको दुगडले यो ब्रान्डको डिलरसीपको बदलामा डी लाइफ स्टायलबाट भेस्पा र अप्रिलया स्कुटरको डिलरसीप खोसेको थियो।

त्यतिबेला दुगडले पहिलेदेखि नै पियाजिओ ब्रान्डको थ्री ह्‍वीलर आयात गरी कारोबार गरिरहेका कारण उसलाई सोही ग्रुप अन्तर्गतको भेस्पा र अप्रिलिया ब्रान्डलाई आफूतिर तान्न खासै कसरत गर्नु परेन।

यसैगरी, पछिल्लो समय २०७८ को चैतमा रोयल इन्फिल्डको पनि आधिकारिक बिक्रेताबाट दुगड ग्रुपलाई हटायो। र, त्रिवेणी ग्रुपलाई नियुक्त गरिएको थियो।

दुगड समूहले २० वर्षदेखि रोयल इनफिल्डका मोटरसाइकल नेपाली बजारमा बिक्री गर्दै आएको थियो। दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले बिक्री यो बाइक बेच्थ्यो।

फोर्ड कम्पनीको आधिकारिक बिक्रेता पनि सुरुमा दुगड ग्रुपले नै पाएको थियो। तर, त्यो कम्पनीले उत्पादन गरेका नेपालमा बिक्री हुनसक्ने विभिन्न मोडलका गाडी विश्वका अन्य बजारबाट ल्याउन भने दिइएन। त्यसपछि दुगड ग्रुपको व्यापार सोचे जस्तो भएन र उत्पादक कम्पनीले दुगडसँग बिक्रेता खारेज गरी आकाश गोल्छाको गो-अटोमोबाइल्सलाई डिलरसीप दियो।

यसैगरी, २०२९ तिर जर्मन कार ब्रान्ड फक्सवागनको समेत सोल डिस्ट्रिब्युटर्स दुगड नै थियो। त्यसबेला नेपालमा सो मोडल अत्यन्त लोकप्रिय थियो। कम्पनीले सो कम्पनीकै बिटल र अर्को एक मिनीबस पनि आयात गरेको थियो। तर, पछि विश्वबजारमा जापानमा बनेका गाडीहरूले प्रभाव यति धेरै बढ्यो, भक्सवागनले आफ्नो दृष्टि एसियाका अन्य देशहरूबाट हटाएर चीनमा केन्द्रित गर्‍यो।

यसले गर्दा व्यापारमा पनि कमी आयो र पछि उत्पादक कम्पनीले भक्सवागनको भारतस्थित सब्सिडरी कम्पनीले विशाल ग्रुपको पूजा इन्टरनेशनललाई एजेन्सी दियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्