बैंकको ऋण तिर्दिन भन्नेलाई चन्द्र ढकालको प्रश्न: लोकप्रियताका लागि जे पनि बोल्ने?

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्।

नवलपुरको गैडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने ‘हरेक सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने र निजी क्षेत्रको विकास गर्ने भनेर भन्ने गरेको सुनिन्छ। तर व्यवहारमा हामीले दलहरुले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको महशुस गर्न सकेको छैनौ। मुलुकका औद्योगिक विकास र आर्थिक मुद्दा लिएर सरकारका विभिन्न निकायमा पुग्दा यो निजी क्षेत्रको मात्र एजेण्डा हो भन्ने गरेको पाइन्छ।’

उनले निजी क्षेत्रले आयात रोकेर अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन्न भनेको कुरा औल्याउदै यसले राजश्व घटाउने मात्र काम गरेको बताए।

‘हामीले आयात प्रतिबन्धले अहिलेको समस्या समाधान हुन्न भनेर भनेका थियौँ । त्यसको बदलामा बोर्डरमा हुने अनौपचारिक कारोबारलाई रोकौ भनेर सल्लाह पनि दिएका थियौँ । तर त्यो कुरालाई नसुनेर सरकारले आयातमा प्रतिबन्ध लगाउने काम गर्यो । त्यसले गर्दा अहिले राजश्वमा ठूलो असर गरेको छ,’ उनले भने।

हरेक नयाँ नीति तथा नियमहरु बनाउँदा निजी क्षेत्र तथा सरोकारवालाहरुसँग व्यापक छलफल गर्न उनले सरकार तथा नियामक निकायलाई सुझाव समेत दिएका छन्।

बैंकबाट लिएको कर्जाको व्याज तथा कर्जा तिर्न पर्दैन भन्दै केही व्यक्तिले बोल्ने गरेको बताउँदै उनले यसबाट अर्थतन्त्रमा ठूलो समस्या निम्तिन सक्ने संकेत गरे।

“केही वर्ष पहिले कुनै एउटा बैंकको बारेमा पत्रपत्रिकामा समाचार आउँदा बैंकको निक्षेप फिर्ता लिन बैंकमा सर्वसाधारणको लाइन लागेको थियो । त्यो बैंकबाट सर्वसाधारणले अस्वाभाविक रुपमा निक्षेप निकालेका थिए र नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्न परेको थियो । अहिले पनि बैंकबाट लिएको कर्जा तिर्न पर्दैन भन्ने आवाज सडकबाट आउन थालेको छ । यो डर लाग्दो अवस्था हो । हामीले समयमै यसलाई सम्बोधन गर्न सकेनौ भने यसले मुलुकको अर्थतन्त्रमा ठूलो संकट निम्ताउन सक्छ,” उनले भने।

उनले बैंकको कर्जा तिर्दिन भनेर के भन्न खोजेको हो भनेर प्रश्न समेत गरे।

“उपस्थित राजनितिक दलका नेतृत्व तथा उद्योगी व्यवसायीहरु साथीहरुलाई म सोध्न चाहन्छु, बैंकको कर्जा तिर्दिन भनेर के भन्न खोजेको हो । बैंकको निक्षेप भनेको त आम जनताको पैसा होला । यदि बैंकमा रहेको जनताको पैसा तिर्नुपर्दैन भनेर लोकप्रियताका लागि हामीले भन्यौ भने र बैंकलाई मात्र गाली गर्ने गरी कुरा गर्यौ भने त्यसको नतिजा के होला,” उनले भने।

उनले भिडमा तालीका लागि मात्र गैरजिम्मेबार ढंगले विषयवस्तु नउठाउन सबैलाई आग्रह गरे।

“म निजी क्षेत्रका साथीहरुलाई पनि भन्न चाहन्छु । तपाईहरु वास्तविक र व्यवहारिक बन्नुस् । त्यसबाट बाहिर गएर भिडमा लोकप्रिय बन्ने प्रतिस्पर्धा नगरौँ । सस्तो लोकप्रियताका लागि यस्ता गैरजिम्मेबार कुराका पछाडि नलागौ । यसले कुनै दिन हामीले कल्पना नगरेको संकट निम्ताउन सक्छ,” उनले भने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्