रवि लामिछानेको राहदानीमाथि थाल्यो सरकारी वकिलको कार्यालयले छानबिन

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानी लिएको भन्ने विषयमाथि छानबिन सुरु गरेको छ ।  युवराज पौडेल (सफल) ले मंगलबार दिएको उजुरीका आधारमा सरकारी वकिलको कार्यालयले लामिछानेको राहदानीको विषयमा छानबिन थालेको हो । लामिछानेको राहदानीका विषयमा छानबिन गर्न कार्यालयले अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र राहदानी विभागबाट कागजात मगाइएको छ ।
लामिछानेले झुटो विवरण दिई राहदानी लिएको भन्दै पौडेलले पाँच वर्ष कैदको माग गर्दै उजुरी दिएपछि कार्यालयले तीनवटै निकायलाई पत्राचार गरेर कागजात मगाएको हो । ती कार्यालयबाट आएको जवाफका आधारमा सरकारी वकिलको कार्यालयले थप प्रक्रिया अघि बढाउनेछ ।  नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि १३ माघमा लामिछानेले प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्रीको पद गुमाउनुपरेको थियो ।

अमेरिकाको राहदानी र नागरिकता हुँदाको बखत नै नेपाली राहदानी लिएको भन्दै पौडेलले लामिछानेमाथि कारबाही गर्न माग गर्दै दिएको निवेदन प्रहरीले दर्ता गर्न नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गरेका हुन् । कागजातको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले  लामिछानेमाथि मुद्दा चलाउनु पर्ने नपर्ने निर्क्योल गर्नेछ । यदि मुद्दा चलाउनुपर्ने भएमा प्रहरीलाई दर्ता गरी आवश्यक अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले निर्देशन दिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्