हिन्डेनबर्गको रिपोर्टपछि धनाढ्य सूचीको सातौंमा ओर्लिए अडानी, एकै दिन २४ अर्ब डलर गुम्यो

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। गौतम अडानीको कुल सम्पत्तिमा एकै दिन २४ अर्ब अमेरिकी डलरको गिरावट आएको छ। अमेरिकी अनुसन्धान संस्थाले सार्वजनिक गरेको नकारात्मक प्रतिवेदनका कारण विश्वकै तेस्रो धनाढ्य भारतीय अडानी शुक्रबार सातौं स्थानमा ओर्लिएका हुन्।

न्युयोर्कस्थित इन्भेष्टमेन्ट रिसर्च फर्म हिन्डेनबर्गले अडानीको स्वामित्वमा रहेका केही कम्पनीहरुले जाली वित्तीय विवरण र सेयर मूल्यमा चलखेल गरेको भन्दै प्रतिवेदन सार्वजनिक गरे लगत्तै बुधबारदेखि नै अडानी ग्रुपका कम्पनीहरुको सेयरमा उल्लेख्य गिरावट आउन सुरु गरिसकेको थियो। परिणाम स्वरुप भारतका सबैभन्दा धनाढ्य अडानीले बिहीबार पनि २० प्रतिशतभन्दा बढी गुमाउँदा कुल नेट वर्थ ९८.६ अर्ब डलरमा झरेको हो।

६० वर्षीय अडानीले पछिल्लो समय डेटा सेन्टरदेखि सिमेन्टमा आक्रामक लगानी गरिरहेका छन्। मिडियासहित रसायनका क्षेत्रमा समेत उनले लगानी विस्तार गर्दै लगेका छन्। अडानी समूहले अहिले भारतको सबैभन्दा ठूलो निजी क्षेत्रबाट सञ्चालित बन्दरगाह, विमानस्थल अपरेटरदेखि सिटी ग्यास वितरक र कोइला माइन सम्म थियो।

अडानीले सन् २०२२ मा ६० अर्ब ९० करोड अमेरिकी डलर आर्जन गरिसकेका छन्। गत फेब्रुअरीमा अडानीले मुकेश अम्बानीलाई उछिन्दै एसियाको धनाढ्य बनेका थिए। गत महिना उनले बिल गेट्सलाई उछिन्दै विश्वको चौथो धनाढ्य व्यक्ति बन्न सफल भएका थिए। हिन्डेनबर्गका अनुसार पछिल्ला तीन वर्षमा मात्रै उनको नेटवर्थ एक अर्ब डलर बढेको हो।

अडानी इन्टरप्राइजेजले शुक्रबार २० हजार करोड रुपैयाँको एफपीओ जारी गर्दै

अडानी इन्टरप्राइजेजको २०,००० करोडको फलो-अन पब्लिक अफरिङ (एफपीओ) शुक्रबार दलाल स्ट्रीटमा बिक्री खुलेको छ।

कम्पनीले एफपीओबाट आर्जन गरेको रकम अदानी इन्टरप्राइजेज लिमिटेड र यसका सहायक कम्पनीहरूको ऋण चुक्ता गर्न प्रयोग गरिने स्पष्ट पारेको छ। यो केही रकम पुँजीगत खर्चमा पनि परिचालन हुने कम्पनीले जनाएको हो।

कम्पनीले एफपीओ प्राइसको माथिल्लो प्राइस ब्यान्ड प्रति कित्ता सेयर ३ हजार २७६ भारु तोकेको छ। यस्तै तल्लो प्राइस ब्यान्ड ३ हजार ११२ रुपैयाँ भारु छ। अडानी इन्टरप्राइजेजको सेयर ३ हजार ४०५ भारुमा कारोबार हुँदैछ। जसअनुसार लगानीकर्ताले एफपीओमा लगभग ५ प्रतिशतको छुट पाउनेछन्।

बिक्री खुलेको पहिलो दिन दिउँसो १२:१८ बजेसम्म एफपीओ सर्वसाधरणमा ०.०१ गुणा सब्स्क्राइब भएको छ। कर्मचारीमा ०.०२ गुणा सब्स्क्राइब भएको छ। एफपीओ दुवै भारतीय स्टक एक्सचेन्ज एनएसइ र बीएसइमा सूचीकरण प्रस्ताव गरिएको छ।

कम्पनीको सेयर गत वर्ष लगभग १३० प्रतिशतले बढेको थियो। यस वर्ष भने अहिलेसम्म यसको सेयर करिब ७ प्रतिशतले घटेको छ। अदानी ग्रुपका अन्य कम्पनीहरूको पनि सेयर मूल्यमा गत वर्ष शतप्रतिशतभन्दा बढीले वृद्धि आएको थियो। यसले गर्दा केही लगानीकर्ताहरूले कम्पनीहरूको सेयर ओभर भ्यालु भएको भन्दै चिन्तित भएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्