![](http://samacharbiz.com/wp-content/uploads/2023/01/33333333333.jpg)
काठमाडौं। एकीकृत समाजवादीले वर्तमान सरकारलाई विश्वासको मत दिने भएको छ। आज बसेको सचिवालय बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।
केही दिन अगाडि बसेको पार्टीको पोलिटब्यूरो बैठकले सत्तापक्षीय सबै दलको समन्वयमा निर्माण भएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि त्यसका अध्ययनका आधारमा सरकारलाई समर्थन गर्ने विषयमा टुंगो लगाउने निर्णय गरेको थियो। सरकारको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक भएको थियो।
सचिवालय बैठकपछि आजै पार्टीको संसदीय दलको बैठक बोलाइएको छ। उक्त बैठकमा सचिवालय बैठकको निर्णय अनुसार दलका नेतालाई निर्देशन दिने तथा ह्वीप जारी गरिने बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ। प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० सांसद छन्।