नायिका गरिमा भन्छिन् – सुध्रिने मौका दिनुहोला

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । नेपाली चलचित्र लण्डन टु पेरिसको प्रिमियर भएको छ । बिहीबार साँझ काठमाडौंमा चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो ।

सो अवसरमा उपसभामुख इन्दिरा रानासहित कलाकारहरुको उपस्थिति रहेको थियो । घनश्याम लामिछाने निर्देशित फिल्ममा निश्चल खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ, लोकविक्रम मल्ल र मनिष गान्धीको अभिनय छ ।

यही फिल्ममार्फत निश्चल र गरिमाले नेपाली रजतपटमा डेब्यु गरेका हुन् । एबी इन्टरनेश्नलको प्रश्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन्

प्रिमियर शोपछि बोल्दै अभिनेता शोभित बस्नेतले लण्डन टु पेरिस ठूलो लगानीमा राम्रो चलचित्र बनेको बताए । उनले विदेशमा भएर पनि नेपाली चलचित्रप्रतिको माया उल्लेख्य देखाइएको बताए । उनले विदेशमा बसेर नेपाली चलचित्रप्रतिको लगाव देख्दा नेपाली चलचित्रकर्मीहरुले गरेको काम भन्दा राम्रो लागेको बताए ।

अभिनेत्री गरिमा शर्माले सानो पर्दामा झैँ ठूलो पर्दाम डेब्यु गर्दा पनि माया पाउने आशा व्यक्त गरिन् । उनले आफू ठूलो पर्दामा नयाँ भएकाले सुध्रिने अवसर दिन आग्रह गरिन् ।

सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछ । फिल्ममा अभेद परव र कुनाल कदमको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लङ्गनेस फर्नान्डेजको कोरियोग्राफी छ । लङ्नेस ओस्कार अवार्ड विजेता फिल्म ‘स्लमडग मिलेनियर’को गीत ‘जय हो’का कोरियोग्राफर हुन् । चलचित्र आजबाट देशभर प्रदर्शनमा आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्