ओलीलाई माधव नेपालले भने– मुर्मुरिने काम गर्नु हुँदैन

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । एकीकृत समाजवादीको कोसी प्रदेश कमिटीद्वारा शनिबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट पारे । एकताका निम्ति एमालेले पनि चाहना देखाउन आवश्यक रहेको उनले बताए ।

“…हिजोको कुरा पनि बिर्सौँ ठिक छ, तर अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन,” उनले भने, “विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन । किनभने, चाहना त हुनुपर्छ नि ।”

उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गरे । आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको उनको भनाइ थियो । “…मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ– ल हेर्नुस्, प्रचण्डजीको भूमिका पोजेटिभ छ, तपाईंको पनि यस्तै पोजेटिभ हुनुपर्छ । उहाँ सुनेर बस्नुहुँदो रहेछ ज्यादा । चित्त नबुझेर होला, भित्रभित्रै मुर्मुरिएर पनि होला । मुर्मुरिने काम गर्नु हुँदैन ।”

समाजवादी मोर्चाको पुनर्गठन गरेर अघि बढ्ने सोच आफूहरूको रहेको उनले बताए । राष्ट्रका आवश्यकताको पहिचान गरेर अघि बढ्न जरुरी रहेको उनले उल्लेख गरे । न्युज एजेन्सी नेपाल

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्