महामन्त्री थापाको सांगठनिक प्रतिवेदन प्रस्ताव पेस, विशिष्ट परिस्थितिमा गठबन्धन भएको भनाई

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ  । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने बताएका छन् । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्ताव पेस गर्दै उनले कांग्रेसको अभियानलाई सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘पार्टीले आफूले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभूत गराउनेछौँ । अवसर पाएको बेला अव्वल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौँ ।’

महामन्त्री थापाले कांग्रेसलाई लोकतन्त्रमा आस्थावानहरूको एकमात्र विश्वासिलो र आम जनताको भरपर्दो पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरे । महामन्त्री थापाले आन्तरिक प्रतिस्पर्धामा गुटगत भिन्नता देखिए पनि सार्वजनिक हितका विषयमा एकजुट भएर लाग्ने सामूहिक भावना कांग्रेसमा रहेको जिकिर गरे ।

गठबन्धनबारे बोल्दै महामन्त्री थापाले तत्कालीन सरकारले पटक पटक असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेपछि गठबन्धनको परिस्थिति बनेको उल्लेख गरे । उनले भने, ‘एक विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको थियो । त्यसैको निरन्तरता स्वरूप पार्टीले लोकतन्त्र र संविधानको रक्षार्थ र स्थिरताका लागि निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको थियो ।’

सरकार र पार्टीको सम्बन्धमा सबै तहमा केही न केही समस्या भए पनि ती समस्या समाधानका लागि छलफलका माध्यमबाट पार्टी अघि बढ्ने महामन्त्री थापाले जिकिर गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्