नेपाल एयरलाइन्सले भदौ २० गतेदेखि साउदी अरेबियाको दमाममा उडान गर्ने

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौंबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो । नेपाल एयरलाइन्सको यो ११औँ अन्तर्राष्ट्रिय उडान गन्तव्य हो । यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको थियो ।

उडान तालिकाअनुसार काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता पौडेलले जानकारी दिए ।

काठमाडौं–दमामको प्रवर्द्धनात्मक भाडादर रु ३५ हजार तोकिएको छ । दमाम–काठमाडौंका लागि भने पाँच सय ९६ साउदी रियाल तोकिएको छ । निगमको उडान विस्तारबाट नेपालीहरूको बाहुल्यता रहेको साउदीबाट नेपाल आवागमन सहज र सुलभ हुने विश्वास गरिएको छ ।

निगमले अहिले दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाजमार्फत आठ देशका ११ गन्तव्यमा उडान भरिरहेको छ । रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्