संसद्को गतिरोध हटाउन पहल गर्ने गठबन्धनको निर्णय

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ — सत्ता गठबन्धनले संसद्को गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सदनको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दलसहित संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग संवाद गर्ने निर्णय गरेको हो ।

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । भेटमा उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

त्यसक्रममा सदन सञ्चालन र पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटबारे प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ ।’

त्रिभुवन विमानस्थलबाट समातिएको सुन प्रकरणपछि त्यसबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । १० साउनपछि संघीय संसद्का दुवै सदनहरू नियमित कार्यसूचीमा प्रवेश गर्न पाएका छैनन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्