बकर इदको अवसरमा कतारमा खुला पुरुष भलिबल प्रतियोगिता हुने

समाचार बिज
  • ख-
  • ख+

दोहा, कतार : कास्की आदर्श समाज कतारको आयोजना तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको सहकार्यमा “अन्तर नेपाली समुदाय खुला पुरुष भलिबल प्रतियोगिता” हुने भएको छ । इस्लाम धर्मालम्बीहरुको दोस्रो ठुलो पर्व बकर इदको अवसरमा उक्त भलिबल प्रतियोगिताको आयोजना हुन लागेको बुधबार राति संयुक्तरूपमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्मेलनमा समाजका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक अमृत विश्वकर्माले विश्वमा भलिबल निकै लोकप्रिय खेल रहेको र कतारमा पनि भलिबलप्रति निकै आकर्षण रहेको बताए । उनले कतारमा नेपाली समुदायले आयोजना गर्ने अन्य कार्यक्रममा भन्दा भलिबलमा धेरै नेपालीहरूको साथ तथा उपस्थिति रहने गरेको बताए । खेलमा सहभागी खेलाडीहरूसहित विशेष व्यक्तिहरूका लागि खेल मैदानमा विशेष पास तथा अलग-अलग प्रवेशद्वारको व्यवस्था गर्न लागिएको उनले बताए ।

खेलमा भाग लिन नेपालबाट राष्ट्रिय भलिबल खेलाडीहरू ईम राना मगर, विशाल बिक र मनोज खड्का पनि कतार आउने आयोजकले जानकारी दिएको छ । करिब पौने २ लाख नेपाली रुपैयाँ (५ हजार कतारी रियाल) प्रथम पुरस्कार राशि राखिएको प्रतियोगितामा दोस्रो पुरस्कार करिब ८७ हजार रुपैयाँ (२५०० रियाल), तेस्रो पुरस्कार ३५ हजार नेपाली रुपैयाँ (१००० रियाल) राखिएको छ भने सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको छ । विधागत पुरस्कारअन्तर्गत सर्वोत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्ससमेत रहेका छन् ।

अत्यधिक गर्मीको ख्याल गर्दै भारतीय कम्युनिटीसँग मिलेर प्रतियोगिता अवधिभर हेल्थ डेस्क सञ्चालन गरिने भएको छ । करिब १८ हजार नेपाली रुपैयाँ (५०५ कतारी रियाल) टिम दर्ता शुल्क तोकिएको प्रतियोगिता सनैयाको स्ट्रिट ५४ नम्बरको लेफ्ट साइडमा खेलाइने छ । खेल २७ जुनमा उद्घाटन गर्ने कार्यतालिका रहेको छ । प्रतियोगितामा सहभागी हुन चाहने टिमले  २५ तारिकभित्र दर्ता गरिसक्नुपर्ने आयोजकले बताएको छ । गत आइतबार धु अल हिज्जा चन्द्रमा देखिसकिएको हुँदा चन्द्रमा देखिएको दिनबाट दशौं दिनलाई इद अल अधाको पहिलो दिन मान्ने गरिन्छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खेलको कुल लागत करिब ११ लाख रुपैयाँ (३२ हजार रियाल) अनुमान गरिएको छ । एनसीसी कतारले करिब १ लाख (३ हजार रियाल) सहयोग गर्ने जानकारी सम्मेलनका प्रमुख अतिथि तथा एनसीसी कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले जानकारी दिए । उनले कतारका कुनैपनि संघसंस्थाले एनसीसीसँग सहकार्य गर्न चाहेमा ढोका खुला रहेका बताए ।

सम्मेलनमा उठेका प्रश्नको जवाफ दिँदै सभापति तथा समाजका अध्यक्ष अगन्धर देवकोटाले कार्यक्रमको समापन गरेका थिए भने सम्मेलनलाई समाजका सचिव विष्णु प्रसाद तिमील्सिनाले सहजीकरण गरेका थिए । मध्यान्ह राष्ट्रिय दैनिक उक्त भलिबल प्रतियोगिताको आधिकारिक सञ्चार सहयोगीका रूपमा रहेको छ ।

कास्की आदर्श सामाज कतारका संरक्षक विमल सुवेदीले कास्की ले योजना गरेकाे खेल भलिबल खेल प्रति विविध जानकारी सहीत पत्रकारहरूले सोधेका केहि प्रश्नको जवाफ दिनु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्