लेखनाथ खानेपानी क्षेत्रमा अर्को प्रविधिको उदय : उपभोक्ताको धारामा ब्लुतुथ मिटर

समाचार बिज
  • ख-
  • ख+

संस्थाले उपभोक्ताको धारामा नेपालमै पहिलो पटक ब्लुतुथ मिटर (Bluetooth Water Meter ) जडान गरेको छ । खानेपानीको क्षेत्रमा नेपालमै पहिलो पटक अनलाइन विलिङ्ग प्रणाली र अनलाइन मिटर रिडिङ्ग प्रणाली प्रयोगमा ल्याएको लेखनाथ खानेपानी उपाभोक्ता संस्थाले अर्को नवीन प्रविधि भित्र्याएको हो ।

रुसमा निर्माण भएको Bluetooth Water Meter जडान कार्य हाल परिक्षणकालमै रहेको कार्यालय प्रमुख शिवप्रसाद अमात्यले जानकारी दिनुभयो । यो प्रविधि पूर्ण रुपमा सफल भएमा मिटर रिडरहरु घर घरमै पुगेर मिटर रिडिङ्ग गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

ब्लुतुथ वाटर मिटरको परिक्षण सफल भएमा कर्मचारीको कार्य बोझ घट्ने र प्रत्येक घरमा धाईरहनु नपर्ने संस्थाका अध्यक्ष मुरारी शर्माले बताउनुभयो । ‘मिटर रिडरहरुले पहिले जस्तो मिटर खोलेर कति पानी प्रयोग भएछ भनेर हेरिरहनु पर्दैन, १० मिटर टाढाबाटै मोवाइल एपमा डाटा लिन सक्नेछ’ अध्यक्ष शर्माले भन्नुभयो ।


मिटर रिडिङ्ग एपमा आएको डाटा क्लाउडमा पनि रहने हुनाले कुन घरले कति पानी उपभोग गर्‍यो भन्ने विवरण कार्यालयबाटै हेर्न सकिनेछ । उपभोक्ता स्वयंले पनि आफूले दैनिक कति पानी चलायो भन्ने कुरा मोवाईल एप मार्फत हेर्न सकिने भएकाले पानीको किफायती उपयोगमा समेत सघाउ पुग्ने उपभोक्ता संस्थाको अपेक्षा छ ।

यो प्रविधि नेपालमै पहिलो हो । यो पूर्ण रुपमा सफल भएमा उपभोक्ताहरुबाट बेला बखत हुने पानी चोरीको घटना समेत नियन्त्रण हुने संस्थाका उपाध्यक्ष पुष्पकमल ढुङ्गानाले बताउनुभयो ।

लेखनाथ खानेपानी उपभोक्ता संस्थाले पोखरा महानगरपालिकाको वडा नं. २६,२७,२८,२९,३०,३१ र ३२ गरी सात वटा वडामा खानेपानी वितरण गर्दै आएको छ । २०५८ सालमा स्थापना भएको उपभोक्ता संस्थाका करिब १६ हजार घरपरिवार उपभोक्ता छन् । यसबाट करिब ९६ हजार जनसंख्या लाभान्वित भएका छन् ।

संस्थाले गिउँजेखोला मुहानबाट दैनिक ४८.९० लिटर प्रति सेकेण्ड पानी ल्याएर वितरण गरिरहेको छ । तर वर्षा याममा खोलामा बाढी आई पानी धमिलो हुने गरेकोले सरदर ४० लिटर मात्र ल्याईने गरेको छ । पानीको आपूर्तिको लागि संस्थाले ८ वटा बोरीङ्गहरु र २ वटा सम्पवेलहरुबाट पनि पानी उत्पादन गरेर वितरण गरिरहेको संस्थाका अध्यक्ष मुरारी शर्माले जानकारी दिनुभयो । सो बाट दैनिक सालाखाला १०० लिटर प्रति सेकेण्ड पानी वितरण भईरहेको छ ।

खानेपानीको क्षेत्रमा नयाँ-नयाँ प्रविधिहरुको प्रयोग गरी उपभोक्तालाई सहज र सर्वसुलभ सेवा प्रदान गर्न लेखनाथ खानेपानी उपभोक्ता संस्था प्रयत्नशील छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्