पोखरा विश्वविद्यालयका ६९९९ विद्यार्थी दीक्षित

समाचार बिज
  • ख-
  • ख+

पोखरा ३०, ढुंगेपाटनस्थित विश्वविद्यालय परिसरमा सोमबार आयोजित समारोहमा स्नातक तथा स्नातकोत्तर तहका गरी ६ हजार ९ सय ९९ विद्यार्थी दीक्षित भएका हुन् ।

प्रमुख अतिथि भारतको नोयडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआइयु) का उपकुलपति प्राडा उमा भारद्वाज र विश्वविद्यालय कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई दीक्षित गरेका हुन् । दीक्षित भएकामध्ये डिन लिस्टमा पर्न सफल ५ सय ७२ विद्यार्थी थिए । स्नातक तहका कार्यक्रममा सिजिपिए ३.७ वा सोभन्दा बढी अंक तथा स्नातकोत्तरमा सिजिपिए ३.८ वा सोभन्दा बढी अंक ल्याउने विद्यार्थी डिन लिस्टमा परेका हुन् ।

समारोहमा स्नातकोत्तर तहका सम्पूर्ण कार्यक्रममा सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीले स्वर्णांकित कुलपति पदक तथा स्नातक तहका सम्पूर्ण कार्यक्रममा सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीले स्वर्णांकित अक्सफोर्ड पदक प्रदान गरियो । विश्वविद्यालयबाट यस वर्षसहित हालसम्म ५५ हजार ९ सय ७ जना विद्यार्थी दीक्षित भएका छन् ।

१८ औं दीक्षान्त समारोहमा स्नातक तह कम्प्युटर एप्लिकेसन कार्यक्रममा उच्च अंक प्राप्त गर्ने अनिश लिम्बु (सिजिपिए ३.९६) लाई ओसिइएम स्वर्ण पदक–२०७९ प्रदान गरिएको थियो ।

महाविद्यालयबाट व्यवसाय प्रशासन, स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने सम्झना तिवारी (सिजिपिए ३.९९) लाई लक्ष्मी विद्या पदक–२०७९ प्रदान गरियो । यस्तै, स्वास्थ्य विज्ञान संकायअन्तर्गत स्नातकमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने विनु भट्टराईलाई उपकुलपति पदक र सिमान्त कसजु, अमितकुमार शर्मा, अश्वीना गिरी, निमेश शाक्य, रुपेश अर्याल, अविरल सुवेदी, एलिता श्रेष्ठ, आशीष कर्ण, संजोग उप्रेती, सुशील पंगेनी, उर्जा कार्कीलाई स्नातकोत्तरतर्फको कुलपति पदक प्रदान गरियो ।

व्यवस्थापनतर्फ दीपमाला श्रेष्ठलाई कुलपति पदक (विद्यावारिधि) बाट दीक्षित गरिएको रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले बताए । पोविविबाट हालसम्म ५५ हजार ९ सय ७ जना विद्यार्थी दीक्षित भएका छन् । यो विश्वविद्यालयले नेपालमै सबैभन्दा ठूलो संख्यामा निशुल्क छात्रवृत्ति प्रदान गर्दै आएको छ । गत वर्ष विभिन्न संकायका स्नातक तहको कार्यक्रममा ९ सय ७२ जनाले र स्नातकोत्तर, एमफिल तह तथा विद्यावारिधिका विभिन्न कार्यक्रममा १ सय ५४ जना गरी कुल १ हजार १ सय २६ विद्यार्थीले निशुल्क छात्रवृत्ति पढ्ने अवसर पाएका थिए ।

यस वर्ष स्नातकमा ८ सय १६ विद्यार्थीले निशुल्क छात्रवृत्ति पढ्ने अवसर पाएका छन् । विश्वविद्यालयले यसै वर्षदेखि शिक्षण अस्पतालसमेत चलाएको छ । चाँडै नै पोखरा विश्वविद्यालय शिक्षण अस्पताल, परिमार्जित छात्रावास भवन र नवनिर्मित भवनमा फुल फेजमा संचालन गरिने जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्