सेदी रिसोर्टलाई लगानी थप्दै बाराही समूह, सवा ५ अर्बका लागि थप प्रमोटर भित्र्याउँदै

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। होटल-रिसोर्ट व्यवसायमा अग्रणी बाराही समूहले पोखराको सेदी हाइटमा निर्माणाधीन बाराही सेदीमा लगानी थप्न संस्थापक लगानीकर्ता भित्र्याउने भएको छ।

सवा पाँच अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो भीआइपी रिसोर्टमा बाराहीको ५१ प्रतिशत सेयर स्वामित्व रहने छ। ३९ प्रतिशत संस्थापक र बाँकी १० प्रतिशत भने सर्वसाधारणलाई प्राथमिक सेयर जारी गर्ने गृहकार्य थालिएको समूहका कार्यकारी निर्देशक विप्लव पौडेलले बताए।

‘अहिले हामी लगानी भित्र्याउने गृहकार्यमा छौं। न्यूनतम १० लाख रुपैयाँदेखि लगानी उठाउने गरी लगानीकर्ता भित्र्याउन सुरु गरेका छौं। माघभित्रै प्रमोसनल सेयर अन्तर्गतको लगानी भित्र्याउनेछौं,’ उनले बिजमाण्डूसँग भने, ‘प्रमोसनल सेयर अन्तर्गत हालसम्म २० प्रतिशत प्रमोटर सेयर बुक भइसकेका छन्।’

यसअन्तर्गत स्वास्थ्य सेवा, इन्जिनियरिङ र सेयर मार्केट लगायत विभिन्न क्षेत्रका करिब २ सय ५० जनाको सहभागिता रहने उनले बताए। आठ महिनाअघि निर्माण थालिएको बाराहीको नयाँ होटलको संरचना २८ प्रतिशत तयार भइसकेको छ।

आउँदो दुई वर्षभित्र होटल सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए। ६३ रोपनी क्षेत्रफलमा निर्माणाधीन होटलमा १५० वटा कोठा हुनेछन्। जसअन्तर्गत १० वटा सुइट रुम र जुनियर सुइट रुम हुनेछ।

जग्गासहित ५ अर्ब २५ करोड रुपैयाँ लगानी हुने अनुमान छ। होटलको आर्किटेक्चरका काम वरिष्ठ आर्किटेक्ट अरुणदेव पन्तले गरेका हुन्। होटल परिसरमा कुल १८ वटा भवन संरचना रहने उनले जानकारी दिए।

डिलक्स फाइभ स्टारस्तरको यो रिसोर्ट आन्तरिक र बाह्य लक्जरियस पर्यटकलक्षित हुनेछ। रिसोर्टमा चार तल्ला, सात तल्ला, नौ तल्ला जोडिएका भवन संरचनासँगै ११ वटा सर्भिस हाउस रहने डिजाइनमा छ।

यी ११ वटा छुट्टाछुट्टै भावनमा लामो समयका लागि बस्न आउने पर्यटकले बुकिङ गर्न पाउने छन्। ‘हामीले यी ११ वटा घरहरु  फिनिसिङ गरेर बिक्री गर्ने योजना बनाएका थियौं। तर पछि हस्पिटालिटी प्रयोजनमै सञ्चालन गर्ने सोच बनाएका हौं,’ पौडेलले भने,’चारवटा बेडरुमसहितको घर लङ स्टे गेस्ट, हवाईजहाजका क्रु-मेम्बर लगायत लक्षित छ।’

रिसोर्टमा १२ सय जना क्षमताको सभा हल, तीनवटा रेस्टुरेन्ट, स्पा, हेल्थ क्लब, इन्फिनिटी स्वीमिङ पुल, क्यासिनो लगायतको सेवा रहने छ। पोखराको लेकसाइडमा सार्कस्तरको सम्मेलनका लागि बाराही सेदी नै पहिलो होटल हुने उनको दाबी छ।

सेदी हाइटमा निर्माणाधीन होटलमा सुरुवाती लगानी आठ जनाको छ। सबैभन्दा बढी ८७ प्रतिशत स्वामित्व हरिप्रसाद पौडल र उनका अन्य तीन परिवारका सदस्यको छ।

७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी लगानी भएको होटल निर्माणका लागि समूहले २ अर्ब ३८ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ पाइसकेको छ। २ अर्ब ३३ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि इक्राले एनपी एलबी र ५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पाइसकेको छ।

बाराही समूह पोखराको पुरानो होटल व्यवसायी समूह हो। यसको पोखरामा लेकसाइड र सराङकोट गरी दुई होटल सञ्चालनमा छन्। चितवनमा एउटा रिसोर्ट छ। काठमाडौंमा निर्माण सम्पन्न भएको परियोजना सञ्चालनको तयारीमा छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्