सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्छौं : कृषिमन्त्री ज्वाला

समाचार बिज
  • ख-
  • ख+

 कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी रहेको बताएकी छन् ।

सोमबार मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्षको कृषि सम्बन्धी बजेट तथा कार्यक्रम सम्बन्धी छलफलमा उनले सुन्तला नेपालमा सहज उपलब्ध र सजिलो फलफूल भएकाले राष्ट्रिय फल घोषणा गर्ने तयारी रहेको बताएकी हुन् ।

‘…नेपालमा सुन्तला मिठो फलको रुपमा पनि छ । त्यो फल खान पनि सजिलो छ । गाडीमा ५/६ जना बसे पनि केलाएर खान सकिन्छ, काट्नलाई चक्कुहरु परेन । त्यो हिसाबले राष्ट्रिय फलफूलको हिसाबले लैजाने म आफ्नो ठाउँबाट प्रयत्न गर्दैछु । त्यो तुरुन्तै क्याबिनेटमा पास हुने जानकारी गराउन चाहन्छु’, उनले भनिन् ।

मन्त्री ज्वालाले किसानहरुको पहिचान गर्ने र जग्गा वर्गीकरण गर्ने विषयमा पनि मन्त्रालयले काम गरिरहेको बताइन् । उनले मन्त्रालय किसानहरुलाई पहिचान गरी किसान परिचय पत्र दिने गरी लागिपरेको पनि धारणा राखिन् ।

‘हामी किसानहरुको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा हामी दिनरात मिहिनेत गरिरहेका छौं । हुनत म मन्त्रालय सम्हालेको २० दिन जति भयो । किसानहरुलाई पहिचानका लागि किसान परिचय पत्र दिने गरी लागेका छौं । कम्तीमा २०८१/८२ भित्रमा किसानहरुलाई पहिचान गर्ने गरी परिचय पत्र पनि दिइसक्नुपर्छ’, उनले भनिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्