सुशासन पुरस्कार २०८० वाट गोगन मावि सम्मानित

समाचार बिज
  • ख-
  • ख+

आर्थिक पारदर्शिता, विद्यार्थी अनुशासन र शैक्षिक वातावरण कायम गरे वापत पोखरा महानगरपालिका ३२ तल्लो गगनगौडा स्थित गोगन माध्यमिक विद्यालयलाई बुधबार सुशासन पुरस्कार २०८० प्रदान गरिएको छ । सुशासनको लागि नागरिक समाज (सुनास) कास्कीले सञ्चालन गरेको तथा संस्थाका संस्थापक सदस्य स्वर्गिय ईञ्जीनियर लेखबहादुर गुरुङले स्थापना गरेको पुरस्कारको राशी नगद १५ हजार दोशल्ला र प्रमाणपत्र रहेको सुनास कास्कीका अध्यक्ष रवीन्द्रनाथ बांस्तोलाले जानकारी दिए ।
सदाचार प्रशिक्षण तथा पुरस्कार अर्पण समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा जगमान गुरुङ र ईञ्जीनियर लेखबहादुर गुरुङको धर्मपत्नी हिरा गुरुङले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल र प्रधानाध्यापक मोहनराज बराललाई सो पुरस्कार प्रदान गरे ।
संस्कृतिविद प्राडा गुरुङले सुशासन प्रवद्र्धनका लागि सुव्यवस्था आवश्यक पर्ने बताए । उनले सुव्यवस्थाका लागि सुनीति चाहिने तर्क गरे । सदन र सडकमा संविधानको बिरोध भएको तथा समुदाय र समुदाय बीच फाटो ल्याउने काम भएको दाबी गर्दै उनले नेपालको अवस्था बिग्रेको अवस्थामा सन्तुलन ल्याउने दायित्व सचेत नागरिकको भएको चर्चा गरे । ‘सामाजिक संघ संस्थाले नेपालको राष्ट्रियता, सन्तुलित विकास र समुदाय समुदाय बीचको अन्तर सम्बन्धलाई बुझेर काम गर्नु पर्छ,’उनले भने, ‘सुनीतिका लागि जागरण ल्याउने काम सचेत नागरिकको हो । समुदाय समुदाय बीच अन्तर सम्बन्ध कायम गराउन काम गर्नु पर्छ ।’ उनले नेपालको विशेषता र अवस्था बुझेर सुशासन प्रर्वद्धनको काम गर्न सुझाव दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्