पश्चिमा नीति ल्याएर सुशासन प्रवद्र्धन गर्न सकिन्न : सस्कृतिविद् गुरुङ

समाचार बिज
  • ख-
  • ख+

पोखरा, २३ फागुन
आर्थिक पारदर्शिता, विद्यार्थी अनुशासन र शैक्षिक वातावरण कायम गरे वापत पोखरा महानगरपालिका ३२ तल्लो गगन गांैडा स्थित गोगन माध्यमिक विद्यालयलाई बुधबार सुशासन पुरस्कार २०८० प्रदान गरिएको छ । सुशासनको लागि नागरिक समाज (सुनास) कास्कीले सञ्चालन गरेको तथा संस्थाका संस्थापक सदस्य स्वर्गिय ईञ्जीनियर लेखबहादुर गुरुङले स्थापना गरेको पुरस्कारको राशी नगद १५ हजार दोशल्ला र प्रमाणपत्र रहेको सुनास कास्कीका अध्यक्ष रवीन्द्रनाथ बांस्तोलाले जानकारी दिए ।
सदाचार प्रशिक्षण तथा पुरस्कार अर्पण समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा जगमान गुरुङ र ईञ्जीनियर लेखबहादुर गुरुङको धर्मपत्नी हिरा गुरुङले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल र प्रधानाध्यापक मोहनराज बराललाई सो पुरस्कार प्रदान गरे ।
संस्कृतिविद प्राडा गुरुङले सुशासन प्रवद्र्धनका लागि सुव्यवस्था आवश्यक पर्ने बताए । उनले सुव्यवस्थाका लागि सुनीति चाहिने तर्क गरे । सदन र सडकमा संविधानको बिरोध भएको तथा समुदाय र समुदाय बीच फाटो ल्याउने काम भएको दाबी गर्दै उनले नेपालको अवस्था बिग्रेको अवस्थामा सन्तुलन ल्याउने दायित्व सचेत नागरिकको भएको चर्चा गरे । ‘सामाजिक संघ संस्थाले नेपालको राष्ट्रियता, सन्तुलित विकास र समुदाय समुदाय बीचको अन्तर सम्बन्धलाई बुझेर काम गर्नु पर्छ,’उनले भने, ‘सुनीतिका लागि जागरण ल्याउने काम सचेत नागरिकको हो । समुदाय समुदाय बीच अन्तर सम्बन्ध कायम गराउन काम गर्नु पर्छ ।’ उनले नेपालको विशेषता र अवस्था बुझेर सुशासन प्रर्वद्धनको काम गर्न सुझाव दिए ।
नेपाल ऋषि प्राज्ञ डा गुरुङले कास्की र लमजुङका राजाले शान्ति सम्झौता गरेर स्मारकको रुपमा चिनेको राजाको चौतारो र शुक्ला गण्डकी किनारामा गर्ग ऋषिले तपस्था गरेको ठाउँको प्रचार प्रसारमा ध्यान दिन सुझाव दिए ।
नेपाली सेनाले बनाएको राजाको चौतारोको संरक्षण र सम्बद्र्धनमा ध्यान दिन आग्रह गर्दै उनले संयुक्त राष्ट्र संघ, सार्क राष्ट्रका प्रतिनिधि लागयत कुटनीतिकहरु पोखरा भ्रमण गर्दा राजाको चौतारो घुमाउने व्यवस्था गर्न सुझाव दिए । राजको चौतारो गर्ग ऋषिले तपस्या गरेको ऐतिहासिक महत्वको ठाउँ, संस्कृति र परम्परालाई चिन्न सके सुशासन कायम गर्न सकिने उल्लेख गर्दै उनले पश्चिमेली नीति ल्याएर सुशासन कायम गर्न नसकिने तर्क गरे ।
पोखरा ३२का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले राजनीतिले सबै क्षेत्र बिग्रेको भएता पनि वडा नम्बर ३२ सप्रेको दाबी गरे । शिक्षा क्षेत्रमा लक्ष्य अनुसार प्रगति गर्न नसकेको जानकारी दिदै उनले विद्यालयको शैक्षिक अवस्था अझै सन्तोष जनक नभएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले विगतमा विद्यालयमा भ्रष्टाचार अनियमितता भयो भनेर दुख दिने काम भएको दाबी गरे । विद्यालय पुरस्कृत भएको दिनलाई दुख हटाउने दिनको सज्ञा दिदै उनले पुरस्कृत हुने गौरवको कुरा भएपनि संस्थाको सम्मानले थप चुनौती थपिएको टिप्पणी गरे । उनले कस्तो विद्यालयलाई पुरस्कृत गरियो भन्ने अवस्था आउन नदिने प्रतिवद्धता व्यक्त गरे ।
सुनास कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले शासकको ध्यान शहरको केन्द्रमा भएको अवस्थामा पोखराको सुदुर पूर्वको शैक्षिक संस्थालाई रोजेको जानकारी दिए । उनले समुदायको अपनत्व र जनस्तरको सहयोगबाट समेत सामुदायिक विद्यालयलाई नमुना बनाउन सकिने बताए । सुनास कास्कीका उपाध्यक्ष सिरोजविजय कोइरालाले असल विद्यार्थी भएर समाजलाई सकारात्मक प्रभाव पार्न आग्रह गरे । कार्यक्रममा सुनास कास्कीका अध्यक्ष बांस्तोला, सचिव विष्णुप्रसाद अधिकारीले सबैको हितमा काम गर्नु सुशासन भएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्