‘उपहार’ गीतमा रेखा, पूजा र बेनिशाको मनोभाव

समाचार बिज
  • ख-
  • ख+

महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘उपहार’को वियोगान्त भावको गीत सार्वजनिक गरिएको छ । ‘हारेको छैन’ बोलको गीतमा फिल्मका तीन अभिनेत्रीहरु रेखा थापा, बेनिशा हमाल र पूजा शर्माको मनोभाव र परिघटनालाई दर्शाइएको छ । मुकुन भुषाललाई गम्भीर रोग देखिएपछि उत्पन्न परिस्थितिको वरिपरि गीत बुनिएको छ ।

गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुङ्गानाको शब्द रचना छ । गीतले फिल्म पारिवारिक कथामा आधारित रहेको संकेत गर्छ । पूजा र बेनिशा रेखाको बहिनीको भूमिकामा हुनसक्ने देखिन्छ । फिल्ममा रेखाको मुकुन, पूजाको समर्पण जंग कार्की र बेनिशाको तेज गिरीसँग जोडी बाँधिएको छ । उनीहरुबीचको प्रेमलाई पनि गीतमा देखाउन खोजिएको छ ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, विनोद कुमार पौडेल, मञ्जु श्रेष्ठ आदिको पनि अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्