‘परदेशी २’लाई दशैं विदाको फाइदा, बन्यो ‘हिट’

समाचार बिज
  • ख-
  • ख+

प्रदर्शनको एक हप्तापछि कुनै पनि फिल्मको व्यापार विस्तारै खस्किँदै जान्छ । तर, असोज २६ गतेदेखि प्रदर्शनमा उत्रिएको फिल्म ‘परदेशी २’ भने दोस्रो हप्तामा पनि व्यापारमा खासै कमजोर देखिएको छैन । दशैंको विदामा फिल्मले सुखद् दर्शक पाइरहेको छ । विशेषगरि, काठमाडौंभन्दा बाहिरका प्रायः सिंगल तथा मल्टीप्लेक्स हलमा फिल्मको अकुपेन्सी करिब शतप्रतिशत नै देखिएको छ ।

निर्माताले चार दिने कमाई १ करोड ९८ लाख रुपैयाँ दाबी गरेका थिए । त्यसपछि फिल्मको कमाई सार्वजनिक गरिएको छैन । दशैं विदामा फिल्मको व्यापार बढेका कारण निर्माताले आफ्नो लगानी सुरक्षित गरेर नाफा कमाउन थालिसकेका छन् । यसको मतलब फिल्म यस वर्षको ‘हिट’ सावित भैसकेको छ । दशैं विदा अझै केही दिन रहेकाले फिल्मले निर्मातालाई राम्रै मुनाफा दिने देखिन्छ ।

फिल्म हेर्ने क्रममा हलभित्रै दर्शक रोएका भिडियोहरु यतिबेला सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । जसले गर्दा अन्य दर्शकमा समेत फिल्म हेर्न हुटहुटी जागेको छ । फिल्म हेर्न युवापुस्तादेखि वृद्धवृद्धा समेत लौरोको सहारामा हल पुगेका छन् । निर्देशक तथा निर्माता नारायण रायमाझीले दर्शकको यसकिसिमको साथले भविष्यमा अझै स्तरीय फिल्म बनाउन हौसला मिलेको बताएका छन् ।

यो फिल्मले उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा बसिरहेका आमाबुबाको कथालाई मुख्य विषयवस्तु बनाएको छ । नीर शाह, रमा थपलिया, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ, दीलिप रायमाझी, सबिन बास्तोला, देबेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय रहेको फिल्ममा रमेश विजीको कथा तथा पटकथा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्