अर्थमन्त्री क्यानडा रहेका बेला खड्काले डाकेको कांग्रेसका मन्त्रीको बैठकमा के कुराकानी भयो?

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गरेका छन्। खड्काले मंगलबार दिउँसो रक्षा मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गरेका हुन्।

छलफलमा कानुनमन्त्री धनराज गुरुङ, परराष्ट्रमन्त्री एनपी साउद, उद्योगमन्त्री रमेश रिजाल, स्वास्थ्यमन्त्री मोहन बस्नेत, सहरी विकासमन्त्री सीता गुरुङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्य सहभागी थिए।

अर्थमन्त्री डा प्रकाशशरण महत छलफलमा सहभागी भएनन्। उनी क्यानाडा भ्रमणमा छन्। पछिल्लोपटक कांग्रेसको संसदीय दलको बैठकमा लुम्बिनी विकास कोषमा ल्हारक्याल लामाको नियुक्तिलाई लिएर प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठेको थियो। खड्काले संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्‍मा छलफल नै नगरी नियुक्ति दिएको ब्रिफिङ गरेका थिए। कांग्रेस खड्काको नेतृत्वमा सरकारमा छ।

सहरी विकासमन्त्री सीता गुरुङले मन्त्रीहरुको बैठकमा लगातार सदन स्थगित भएको विषयमा कुराकानी भएको बताइन्। ‘उपप्रधानमन्त्रीज्यूले पहिलेबाटै बैठकको योजना गरिरहनुभएको थियो। आज संसद पनि नभएको र क्याबिनेट पनि नभएकोले सामान्य छलफल भएको हो,’ गुरुङले बिजमाण्डूसँग भनिन्।

बैठक सामान्य भएको उद्योगमन्त्री रमेश रिजालले बताए। ‘सामान्य भेट हो। आफ्ना पार्टीका मन्त्रीहरुबीच छलफल हुनु कुनै ठूलो कुरा होइनन,’ मन्त्री रिजालले भने।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएयता खड्काले पहिलोपटक पार्टीका मन्त्रीहरुसँग छलफल गरेका हुन्। कांग्रेस गत चैत १७ गते सरकारमा सहभागी भएको थियो। आइतबार क्यानडा गएका अर्थमन्त्री भदौ ११ गते स्वदेश फर्कने तालिका छ। महत बाहिर रहेका बेला खड्काले बैठक राख्नुलाई कांग्रेसभित्रै अर्थपूर्ण रुपमा हेरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्