राष्ट्रपति पौडेलले पहिलोपटक सर्वदलीय बैठक बोलाउँदै

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलोपटक सर्वदलीय बैठक बोलाउने भएका छन् । राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको बताए ।

थापाले भने, ‘सर्वदलीय बैठक बोलाउने भन्ने छ । उहाँ राष्ट्रपति भइसकेपछि सबै दलको नेताहरुलाई भेट्नु भएको छैन । सबैसँग भेटघाट गरेर अहिलेको परिस्थिति बुझ्नका लागि उहाँले इच्छा गर्नुभएको छ ।’

उनका अनुसार शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाइने छ । ‘सर्वदलीय बैठकका लागि पहिले पनि कुरा भएको हो । भोलि राष्ट्रपतिज्यूले हामीहरुसँग पनि बैठकको तयारीबारे कुरा गर्नुहुन्छ होला,’ थापाले भने ।

गत शुक्रबार राष्ट्रपति पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि योबीचमा छलफल गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्