सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो, कति कित्ताका लागि दिने आवेदन?

समाचार बिज
  • ख-
  • ख+

सर्वसाधारणका लागि सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ आज (बिहीबार) देखि प्रिमियम मूल्यमा निष्कासन भएको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो।

सोमध्ये कम्पनीले ९ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

बाँकी भएको सेयरमा ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ भने ४ लाख ८० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखिएको कम्पनीले बताएको छ।

सर्वसाधारणले १०० रुपैयाँ अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। सो आइपिओमा साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि  भदौ १४ गतेसम्म लम्बिनेछ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ट्रिपल बी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनी समयमा नै वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित रहेको जनाउँछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्