शीर्ष नेताहरूको बालुवाटार छलफल निष्कर्षविहीन

समाचार बिज
  • ख-
  • ख+

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताको मंगलबारको छलफल पनि निष्कर्षविहीन बनेको छ।

सदनको अवरोध हटाउने विषयमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज बालुवाटारमा छलफल भएको थियो।

बिहान १० बजेदेखि बसेको बैठक निष्कर्षविहीन भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

‘बैठकको शिलशिला जारी नै छ। फेरि पनि कुराकानी हुन्छ,’ उनले भने। उनले आजै अर्को बैठक बस्ने सम्भावना भने नरहेको बताए।

‘सभामुखले प्रमुख सचेतक, सचेतकहरूसँग छलफल गर्नुहुन्छ। सदन चल्ने, नचल्ने त्यसपछि थाहा होला,’ उनले भने।

एमालेले सुन प्रकरणको छानबिनको लागि उच्चस्तरीय समितिको माग गर्दै संसद अवरूद्ध गर्दै आएको छ। साउन १० गतेदेखि संसदको नियमित कार्यसूची अघि बढ्न सकेको छैन।

संसद सचिवालयले लगातार सूचना टाँस गर्दै बैठक स्थगित गर्दै आएको छ। सभामुख घिमिरेले आजको छलफलपछि सदन सञ्चालनको वातावरण बन्ने विश्वास व्यक्त गरेका थिए।

‘संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन्। सांसदहरूले प्राकृतिक विपद्लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन। मैले अधिकतम् रूपमा लचिलो भएर दलहरूलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु। म दलहरूबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु,’ सोमबार संसद भवनमा बसेको बैठकपछि उनले भनेका थिए।

दलहरूको एकता र सहकार्यकै निम्ति आफूले सूचना टाँसेर पटक–पटक बैठक स्थगित गरेको उनले बताएका छन्।

प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ। आज बोलाइएको बैठकको एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनको सूचना सदनसमक्ष दिइनेलगायत कार्यसूची रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्