साम्राज्ञीलाई हिटको पखाई र ‘नाङ्गो गाउँ’को आश

समाचार बिज
  • ख-
  • ख+

कमै अभिनेत्रीलाई डेब्यू फिल्मबाटै सफलताको उत्कर्षमा पुग्ने मौका मिल्छ । यसमानेमा भाग्यमानी अभिनेत्री हुन्, साम्राज्ञी आरएल शाह । पहिलो फिल्म ‘ड्रिम्स’ले नै उनलाई युवापुस्तामा जबर्जस्त लोकप्रियता दिलायो । दोस्रो फिल्म ‘ए मेरो हजुर २’को सफलताले उनको स्टारडम थप मजबूत बन्यो । यतिसम्मकी उनको स्टारडमले नै फिल्म चल्छ भन्ने विश्वास मेकरमा हुन थालिसकेको थियो ।

फिल्म वितरक तथा निर्माता सुनील मानन्धरले ६ महिना अगाडि एक अन्तर्वार्तामा भनेका थिए, ‘रेखा थापापछि हिरोइनको नामले नै फिल्म चल्ने साम्राज्ञीको हो ।’ तर, यो ६ महिनामा बागमतीमा धेरै पानी बगिसकेको छ । अघिल्लो वर्ष प्रदर्शनमा आएको साम्राज्ञी अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’को दयनीय नतिजाले उनको नामले नै फिल्म चल्छ भन्ने भ्रम तोडिदिएको छ ।

यसअघि उनका ‘कायरा’, ‘तिमीसँग’, ‘मारुनी’ र ‘रातो टीका निधारमा’ पनि असफल भएका थिए । रिलिजको हिसाबले चौंथो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ भने ठीकठाक चल्यो । ‘ड्रिम्स’पछि उनको नामैले हलमा दर्शक तानेको नदेखिएको होइन । तर, श्रृंखलाबद्ध विवादले उनको क्रेज कमजोर बनेको फ्लप फिल्मको बढ्दो संख्या प्रमाण हुन् । अब गुमेको क्रेज फर्काउनु पर्ने चुनौती उनमा छ ।

आगामी भदौ २९ गते उनी अभिनीत फिल्म ‘नाङ्गो गाउँ’ प्रदर्शन हुँदैछ । बक्स अफिसका हिट मेशिन मानिएका अभिनेता दयाहाङ राईको पनि फिल्ममा अभिनय छ । ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामाले फिल्म निर्देशन गरेका हुन् । यसैले उनलाई यो फिल्मप्रति ठूलो आशा छ । फिल्म हिट भैदिएको खण्डमा उनको संकटउन्मुख करिअर लयमा फर्कन सक्नेछ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्