अष्ट्रेलियाको केन्द्रीय बैंकको नेतृत्व पहिलोपटक महिलाको हातमा

समाचार बिज
  • ख-
  • ख+

अष्ट्रेलियाको केन्द्रीय बैंकमा पहिलोपटक महिला गभर्नर नियुक्त हुने भएकी छिन्।

रिजर्भ बैंक अफ अष्ट्रेलियालाई नेतृत्व दिन मिसेल बुलकलाई जिम्मेवारी दिइने बैंकले जनाएको छ। सात वर्षको कार्यकाल पूरा गरी बाहिरिन लागेका फिलिप लोइको ठाउँमा मिसेल आउन लागेकी हुन्।

सन् १९६० मा स्थापना भएको बैंकमा अहिलेसम्म महिलाले प्रमुखको जिम्मेवारी पाएका थिएनन्। अष्ट्रेलियामा आर्थिक संकट तथा बढ्दो मुल्यवृद्धिलाई नियन्त्रण गर्ने दबाब अष्ट्रेलियाको केन्द्रीय बैंकलाई भइरहेको बेला मिसेलको नियुक्ति हुन लागेको हो।

मुद्रास्फीतिसँग जुध्नका लागि अष्ट्रेलियाली केन्द्रीय बैंकले ब्याजदरलाई दशक यताकै उच्च बनाएको छ।

‘चुनौतीपूर्ण समयमा म यस भूमिकामा आउन लागेकी छु तर मलाई बलियो कार्यकारी समूह र बोर्डले सहयोग गर्नेछ भन्नेमा म विश्वस्त छु,’ नियुक्तिपछि मिसेलले भनिन्, ‘बैंकले तय गर्ने नीति र संचालन प्रक्रिया अष्ट्रेलियाली जनताको हितमा हुनेमा म प्रतिबद्ध छु।’

मिसेलले विश्लेषकका रुपमा चार दशकअघि बैंक ज्वाइन गरेकी हुन्। हाल बैंककी डेपुटी गभर्नर रहेकी मिसेलले आगामी सेप्टेम्बरदेखि आफ्नो जिम्मेवारी सम्हाल्नेछिन्।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले ट्विट गर्दै मिसलेलाई ‘अभूतपूर्व अर्थशास्त्री’ भनेका छन्।

‘केन्द्रीय बैंकमा लामो र महत्वपूर्ण समय बिताएकी मिसेलको अनुभव, दक्षता तथा भूमिकाले हाल अष्ट्रेलिया लगायत विश्वले नै झेलिरहेको आर्थिक चुनौतीहरुलाई पार लगाउन नेतृत्व दिन सक्ने विश्वास आफूले लिएको पनि प्रधानमन्त्री अल्बानेजले बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्