व्यावसायिक कृषि प्रवर्द्धन गर्न किसानलाई अनुदानमा कृषियन्त्र

समाचार बिज
  • ख-
  • ख+

सिन्धुली । कमलमाई नगरपालिकाले व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण गरेको छ । चौध वडामा रहेका किसानलाई कृषियन्त्र वितरण गरिएको हो ।

कृषि यान्त्रीकरण, प्रविधिको प्रयोग गरी जीविकोपार्जन मात्र नभई व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले नगरका किसानलाई कृषियन्त्र वितरण गरिएको कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले बताइन् । अहिले धान रोपाइँ गर्ने बेलामा लम्पी स्कीन रोगबाट गोरु बिरामी पर्दा किसानलाई धान रोपाइँ गर्न समस्या भएको उनको भनाइ छ । कमलामाई नगरपालिकाले वितरण गरेको मिनी ट्रेलर र पावर ट्रेलरले धान रोपाइँ गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन् ।

मिनी ट्रेलर पाएपछि अब खेती गर्न किसानलाई निकै सहज र सरल हुनुका साथै कम समयमा बढी उत्पादन लिन सक्ने र आधुनिक कृषियन्त्रको सहाराले कृषिमा ठूलो परिवर्तन आउने उनले बताइन् । कमलामाई नगरपालिकाले किसानलाई कृषि खेती गर्ने सीपसहित प्रविधि, प्राविधिकको उपलब्धता गराउँदै आएको उनले बताइन् । उनले अनुदान पाउनका लागि निवेदन दर्ता गराएका किसानको घर–घरमा पुगेर अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसान छनोट गरेर उनीहरुलाई यन्त्र उपलब्ध गराइएको बताइन् । छनोटमा परेका किसानले कृषिलाई व्यवसायीकरण गर्ने जनाएकाले आधुनिक उपकरणले सो कामलाई सहज बनाउने उनले बताइन् ।

किसानको मागको आधारमा नगरपालिकाले किसानको परम्परागत खेतीलाई व्यावसायिक बनाउने गरी कार्यक्रम सञ्चालन गर्दै नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको उनले बताइन्। कृषिको व्यावसायिकताले युवालाई विदेश पलायन हुनबाट रोकी यही स्वरोजगार बनाउने, यहाँको पैसा तरकारीका नाममा अन्यन्त्र नजाँदा यहीँका जनाता आर्थिकरुपमा सवल हुने उनको भनाई छ ।

कमलामाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा ६४ जना किसानलाई मिनी ट्रेलर र चार जना किसानलाई पावर ट्रेलर वितरण गरेको कृषि शाखाका सरोज फुयालले जानकारी दिए । यस आर्थिक वर्षमा नगरपालिकाले ५० प्रतिशत अनुदानमा एक सय ७० जनालाई टनेल प्लाष्टिक, ८५ जनालाई मौरीको घर र २५ मेट्रिक टन धानको बीउ वितरण गरेको उनले जानकारी दिए ।

कमलामाई नगरपालिकाले एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत हरेक वडामा एक बालीलाई प्राथमिकता दिइएको र कृषिको व्यावसायिक खेतीका लागि हरेक वडामा समूह र सहकारीमार्फत रु दुई लाख प्रदान गरिएको उनको भनाइ छ । कमलामाई नगरपालिकाले एक वडा एक उत्पादन अन्तर्गत वडा नं १, ३, ४, ६, ७, १०, ११, १२ तरकारी, वडा नं २ मा अदुवा पकेट कार्यक्रम, वडा नं ५ मा ५ अदुवा वेसार, वडा नं ८ मा भुई कटहर, वडा नंं ९ मा लिचि र वडा नं १३ र १४ मा चैते धान खेतीलाई प्राथमिकता दिएको उनको भनाइ छ । रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्