कमलपोखरीको डुबान रोक्न वडाको पहल (फाेटाेफिचर सहित)

समाचार बिज
  • ख-
  • ख+

पोखरा
पोखराका ९ तालमध्यको एक हो कुँडहरको कमलपोखरी ताल । विश्व रामसार सूचीमा सूचीकृत कमलपोखरी ताल आसपासको क्षेत्र वर्षेनी डुबानमा पर्छ ।
पानीको निकास नहुँदा डुबानमा पर्ने कमलपोखरी आसपासको बस्तीबासी बर्खा लागेपछि त्रासैत्रासमा बाँच्नछन् ।
बस्तीलाई डुबानबाट जोगाउनलाई ताल आसपासको क्षेत्रमा सरसफाइ गरिएको छ । शनिबार ताल क्षेत्रको फोहोर संकलनसँगै ताल क्षेत्रबाट पानीको निकास हुने मुख्य कुलो सफा गरेर बर्खा अगावै डुबानबाट रोक्ने पहल थालिएको हो ।
पोखरा महानगरपालिका–१३ वडा कार्यालयले आयोजना गरेको बृहत सरसफाइ कार्यक्रममा स्थानीयको उल्लेखनिय सहभागिता थियो । ताल क्षेत्रमा भएका प्लास्टिकजन्य फोहोरसँगै झाडि फाँडेर सफा गरेका छन् । कमलपोखरी तालबाट काहँुखोलामा जोड्ने कुलोमा डोजर लगाएर सफा गरिएको छ ।
तालको सुन्दरता बढाउनलाई आसपासको फोहोरमैला संकलनसँगै डुबानबाट जोगाउन डोजर लगाएर कुलो सफा गरेको वडाध्यक्ष किरण बरालले बताए । ‘वर्षेनी आउने भेल बाढीपहिरोले यहाँको बस्तीलाई धेरै प्रभाव पारिरहेको छ । डुबान भइरहन्छ । तसर्थ यसलाई रोक्न हामीले पहल सुरु गरेका हौं’, वडाध्यक्ष बरालले भने । कुलो सफा गरेर पानी निकास खोल्दा डुबान जोखिम कम हुने उनको भनाइ छ ।
स्थानीय शिव गौतमले कुलो बेलामै सफा गरेर पानीको निकास खोलिदिँदा बस्ती डुबानबाट जोगिने बताए । ‘यो सकरात्मक काम हो । यसले गर्दा डुबानको समस्या हट्छ भन्ने हामीलाई विश्वास छ’, उनले भने ।
पहिले १८२ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरी अतिक्रमणको चपेटामा परेर ३२ रोपनीमा खुम्चिएको छ । माथिल्लो तटिय क्षेत्रमा डोजर लगाएर सडक निर्माण गर्दा ताल पुरिँदै कुरुपसमेत बनेको छ । अतिक्रमण हटाउँदै कमलपोखरी ताललाई पुरानै स्वरुपमा वडाले योजना बनाएको वडाध्यक्ष बरालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्