दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन प्रस्ताव, मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउने

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन डेरी उद्योगहरुले प्रस्तााव गरेका छन्। दूधको उत्पादन र लागत खर्चका आधारमा मूल्य १० रुपैयाँ बढाउन प्रस्ताव गरेको नेपाल डेरी एसोसिएसनले जनाएको छ।

सो प्रस्ताव मन्त्रिपरिषद् पठाइएको छ। हरेक वर्ष दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान ,नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको समन्वयमा दूधको मूल्य प्रस्ताव गर्छ। त्यो मूल्य कृषि मन्त्रालयमार्फत मन्त्रिपरिषद्बाट सिफारिस भएर कार्यान्वयनमा आउँछ।

गत पुसमा डेरी उद्योगले आफुखुसी दूधको मूल्य बढाएका थिए। प्रतिलिटर १४ रुपैयाँ दूधको मूल्य बढाइएपछि दुग्ध विकास बोर्डको हस्तक्षेपपछि रोकिएको थियो।

त्यसपछि बोर्डले सातै प्रदेशमा दुधको उत्पादन लागत खर्च लगायत अध्ययन गर्न टोली बनाएको थियो। टोलीहरुले विभिन्न प्रदेशबाट किसान तथा उद्योगहरुको लागत खर्च अध्ययन गरेर आएपछि मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको एशोसिएसनले जनाएको छ।

अघिल्लो पटक २ वर्षमा दूधको मूल्य बढ्ने गरेको थियो। यो वर्ष भने उत्पादन कम भएको र किसानले पशुपालन गर्न छाडेको भन्दै मूल्य बढाउन उद्योगीले दबाब दिएका हुन्। एशोसिएसनका अनुसार हाल देशभर दूधको उत्पादन कम छ।

दैनिक ३१ लाख लिटर दुधको उत्पादन हुने भएपनि पछिल्लो समय २५ लाख लिटर भन्दा कम उत्पादन भएको एशोसिएसनले जिकिर गरेको छ। एशोसिएसनले दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातको अनुमति खोल्न समेत माग गरेका छन्। अहिले दूध र दुग्धजन्य पदार्थ आयातमा प्रतिवन्ध छ।

दूध उत्पादन घट्दा डेरी क्षेत्रमा विकराल परिस्थिति आएको उद्योगी बताउँछन्। फागुनको तेस्रो सातासम्म दूधको उत्पादन बढी हुन्छ। त्यसपछि भने अभाव अझै चर्किन्छ। एशोसिएसनका अनुसार अहिले दैनिक ३० प्रतिशत भन्दा कम दूध उत्पादन भइरहेको र अब केही दिनमा ५० प्रतिशत घट्नेछ। दूध अभाव निजीले मात्रै होइन सरकारी दुग्ध विकास संस्थानले पनि भोगिरहेको छ।

संस्थानका अनुसार अहिले दैनिक एक लाख लिटर दूध संकलन भइरहेको छ। यसअघि जाडो महिनामा १ लाख ६० हजार दूध संकलन हुने गर्थ्यो। संस्थानका अनुसार दूध संकलन कम भएकोले वटर र पाउडर दूध उत्पादन कम भएको छ। संस्थानसँग ५० हजार टन वटर र ८० हजार टन मात्रै धुलो दूध छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्