माओवादी केन्द्र र नेसपाबीच पार्टीको नाममा जुट्न सकेन सहमति

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीचको एकता पार्टीको नाम के हुने भन्ने विषयमा अड्किएको छ ।

माओवादी केन्द्रका वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा र नेसपाका वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठबीच दुई पटक छलफल गरेपनि अन्तिममा पार्टीको नामलाई लिएर अड्किएको हो ।

नेसपा वार्ता टोलीका संयोजक श्रेष्ठले नेकपा नराखेर समाजवादी पार्टी बनाउनुपर्ने अडान राखेका छन् । माओवादी केन्द्रका वार्ता टोली संयोजक महरासहितको टोली पार्टीको नाम नयाँ राखेपनि नेकपा छुटाउन नहुने पक्षमा पुगेका छन् ।

‘माओवादी  केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने विषयमा कुनै शंका छैन । कुनै कन्फ्यिूजनपनि छैन’ प्रधानमन्त्री प्रचण्ड निकट एक नेताले भने, ‘हामी पार्टीको नाम समाजवादी राखेपनि नेकपा राख्नुपर्छ भन्ने छौं । उहाँहरु(नेसपा) नेकपा राख्न हुन्न भन्ने पक्षमा हुनुहुन्छ । कुरा त्यसमा मिलिराखेको छैन ।’ पार्टी एकताका विषयमा वार्ता टोलीबाट कुरा नमिल्ने देखिएपछि शिर्ष नेताहरु बसेर टुंगो लगाइने भएको छ ।

अब माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष बाबुराम भट्टराई बसेर पार्टी एकताका विषयमा छलफल गरेर टुंगो लगाउने जिम्मा दिएको दिएको छ । पार्टीको चुनाव चिन्हका विषयमा भने कुनै समस्या नहुने नेताहरूले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्