प्रतिभा माविको प्राचार्यमा किरण सापकोटा

समाचार बिज
  • ख-
  • ख+

पोखरा, ३० पुस/ पोखराको पालिखेचोकस्थित प्रतिभा माविको प्राचार्यमा किरण सापकोटा नियुक्त भएका छन् । विद्यालय संचालक समितिको बैठकले सापकोटालाई प्राचार्य नियुक्त गर्ने निर्णय गरेको हो । सापकोटा यसअघि विद्यालयका निर्देशक थिए ।

नवनियुक्त प्राचार्य सापकोटालाई शुक्रबार विशेष कार्यक्रम सहित पदस्थापना गराइएको छ । विद्यालयका यसअघिका प्राचार्य विश्वगोपाल पराजुलीलाई वित्त निर्देशकको जिम्मेवारी दिइएको छ । पराजुली विद्यालय स्थापना भएदेखि कार्यरत थिए । विद्यालय २०४३ सालमा स्थापना भएको थियो । यो विद्यालयमा अहिले नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ ।

विद्यालयका प्रवन्ध निर्देशक बलबहादुर थापाले सापकोटाको नेतृत्वले विद्यालय आगामि दिनमा अझै अब्बल बन्दै जाने बताए । यसअघिका प्राचार्य पराजुलीले प्रतिभा माविको रथले आगामि दिन अझै गति पाउने विश्वास व्यक्त गरे । ‘विद्यालयले अहिलेसम्म निकै नै दुख कष्ट भोगेर अघि बढेको छ । प्रतिभाको गन्तव्य यो नै होइन, अझै अगाडि बढाउनुपर्नेछ,’ पराजुलीले भने, ‘सबैको योगदान र सहयोगले संस्था अघि बढ्ने हो, सहयोगका ती हात सधैं सक्रिय रहनेछन ।’

नवनियुक्त प्राचार्य सापकोटा विगत आठवर्षदेखि विद्यालयमा कार्यरत छन् । उनले कुनै कमजोरी भए हटाएर अघि बढ्ने वचन पनि दिए । सापकोटासँग झन्डै तीनदशकको शिक्षण अनुभव छ । उनले २०५० देखि अध्यापन गराउन थालेका हुन् । म्याग्दीको बेनीबाट सापकोटाको शिक्षण यात्रा सुरु भएको थियो । ‘शैक्षिक परिवर्तनको आगो मसँग सानैदखि थियो । बिद्यालयमा अरु भन्दा कसरी नयाँ र फरक हुन सकिन्छ भन्ने हुटहुटि पहिलेदेखि जाग्ने गर्दथ्यो,’ उनले भने, ‘परिवर्तनको हुटहुटी सरकारिमा भन्दा निजीमा मात्र सहज थियो । त्यो परिवर्तन ल्याउन म हरसम्भव प्रयासरत रहनेछु ।’

प्रतिभालाई पोखराको शैक्षिक सान बनाउने टिमको सहयोगका कारण सफल भएको र आगामि दिनमा पनि त्यो गति निरन्तर रहने उनले बताए । ‘आज देशले नै गणना गर्ने शैक्षिक संस्थाको नाम प्रतिभाले कमाएको छ,’ उनले भने, ‘प्रतिभाले भविश्यमा विश्वविद्यालय बन्ने सार्मथ्य राख्छ । प्रतिभाको रथलाई सबै मिलेर अगाडि बनाउनेछौं ।’ पठनपाठनदेखि सबैखाले अतिरिक्त गतिविधिमा प्रतिभा अहिले अब्बल बन्दै गएको सापकोटाले बताए ।

विद्यालयका अध्यक्ष नारायण पौडेलले अनन्त मेहनतका कारण जहाँसुकै सफलता मिल्ने बताए । ‘सबैजनाको मेहनत जरुरी छ । हाम्रो मिसन निजी क्षेत्रले विश्वविद्यालयले संचालन गर्न पाउने अवस्थामा प्रतिभालाई विश्वविद्यालय बनाउने हो,’ पौडेलले भने, ‘हामीले संस्थालाई अझ सशक्त बनाउने योजना बनाएका छौ । त्यसका लागि टिमवर्क चाहिन्छ । सबैको सहयोगले बल्ल संस्थाले गति पाउँछ, त्यो सहयोग अहिले पाइरहेका छौ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्