माओवादीका कृष्ण धिताल गण्डकीको सभामुख

समाचार बिज
  • ख-
  • ख+

पोखरा, पुस ३०

गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । गण्डकी प्रदेश सभामा आज भएको सभामुख पदको निर्वाचनमा धिताल बहुमतले निर्वाचित भएका हुन् ।

सभामुखमा निर्वाचित धितालले ३२ मत प्राप्त गरे । उनको विपक्षमा भने २६ मत खस्यो । नेकपा माओवादी केन्द्रका फडिन्द्र देवकोटाको प्रस्ताव र नेकपा एमालेका रोसन गाहा मगरको समर्थनमा प्रस्तावित धितालको पक्षमा सत्तारुढ दलसँगै प्रतिपक्षमा बसेका एक जना सांसदलेपनि मतदान गरे । धितालाई सभामुख बनाउने पक्षमा सत्तारुढ नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका २ र एक स्वतन्त्र सांसदले मतदान गरे । विपक्षमा भने नेपाली कांग्रेसका २६ जनाले मतदान गरे । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बैठकको अध्यक्षता गरेका मित्रलाल बस्यालले मतदानमा भाग लिन पाएनन् । नेपाली कांग्रेसका एक सांसद भने मतदानका बेला अनुपस्थित रहे ।

धितालको पक्षमा प्रतिपक्षमा बस्ने घोषणा गरेका स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ उर्फ दीपक मनाङेलेपनि मत दिएका छन् । यसअघि नेकपा एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका उनले मन्त्री हुने संकेत नपाएपछि प्रतिपक्षमा बस्ने घोषणा गरेका थिए । सोहि घोषणा अनुसार मनाङेले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिएनन् । बरु उनी सो दिन संसदमा अनुपस्थित रहे । तर शनिबार सभामुखको निर्वाचनमा भने प्रतिपक्षको बेञ्चमा बसेका उनले सत्तारुढ दलहरुद्वारा प्रस्तावित सभामुख धिताललाई मत दिएर फेरी एकपटक सत्तापक्षमा उभिएको सन्देश दिए ।

सभामुखमा निर्वाचित धिताल गोरखा १ को (१)बाट निर्वाचित सांसद हुन् । उनी नेकपा एमालेका सुरेन्द्रबहादुर थापालाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

सभामुखमा नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारीपनि उम्मेदवार थिईन् । तर पहिलो प्रस्ताव उपर भएको मतदानमै बहुमत पुगेर सभामुख चयन भएपछि उनलाई निर्णयार्थ प्रस्तुत गरिएन । कांग्रेसबाट सभामुखको उम्मेदवार बनेकी उनी समानुपातिकबाट प्रदेश सभा सदस्य बनेकी हुन् । उनको प्रस्तावकमा कांग्रेसकै डिल्लीप्रसाद सुवेदी र समर्थकमा टकराज गुरुङ थिए ।

सभामुखमा निर्वाचित धितालले शनिबार नै सपथ लिएका छन् । उनले प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सपथ लिएका हुन् ।

गण्डकी प्रदेशका नवनिर्वाचित सभामुख कृष्णप्रसाद धिताल । तस्बिर ः सन्देश÷नागरिक

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्