ग्लोबल आइएमई बैंकको बैंकिङ कारोबार दुई दिन बन्द

समाचार बिज
  • ख-
  • ख+

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने भएको छ।

यसअघि दुबै बैंकका साधारण सभाबाट मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो भने नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृति प्राप्त भइसकेको छ।

मर्जरपछि एकीकृत वित्तीय कारोबार सुरू गर्न डाटा माइग्रेसनका लागि शनिबार र आइतबार दुई दिन ग्लोबल आइएमई बैंकको सम्पूर्ण बैंकिङ सेवा बन्द रहनेछ।

सो अवधिमा बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, एटिएम तथा एजेण्टमार्फत हुने रेमिटेन्स सेवा भने यथावत सञ्चालनमा रहने बैंकले बताएको छ।

मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, कुल निक्षेप ४ खर्ब ८ अर्ब रुपैयाँ, कुल कर्जा ३ खर्ब ७६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ।

मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्ने दाबी बैंकले गरेको छ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन्।

त्यसैगरी, बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य हुने बैंकले बताएको छ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बैंकमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन्।

दुई बैंकहरूको मर्जर पछि बैंक कुल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरू, ४० लाखभन्दा बढी ग्राहकहरू सहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक हुने बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्