माओवादीले माग्यो कांग्रेससँग विश्वासको मत, बन्ला राष्ट्रिय सहमतिको सरकार ?

समाचार बिज
  • ख-
  • ख+

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा कांग्रेससँग विश्वासको मत मागेको छ । माओवादीका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य दोस्रो तहका नेताहरूलाई छुट्टाछुट्टै भेटेर विश्वासको मत दिन आग्रह गरेका हुन् । भेटका क्रममा माओवादीका नेताहरूले सरकारलाई पुस २६ गते बस्ने संसद बैठकमा विश्वासको मत दिन र राष्ट्रिय सहमतिको सरकार बनाउनेतर्फ अग्रसर हुन आग्रह गरेका हुन् ।

स्रोतका अनुसार माओवादी केन्द्रका नेता जनार्दन शर्मा बुधवार देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए । सो क्रममा उनले प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्दै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि अग्रसर हुन आग्रह गरेका थिए । यसबारे पुष्टि गर्दै नेता शर्माले आफूले प्रचण्डलाई मत दिन कांग्रेस सभापतिलाई आग्रह गरेको रातोपाटीलाई बताए । ‘मेरो प्रधानमन्त्री उहाँ हो । मन्त्रीबाट हटिसकेपछि म भेट्न भएको हो’, उनले भने, ‘रामचन्द्र पौडेलजीले राष्ट्रिय सहमतिको सरकार भनिरहनुभएको छ। सोही अनुसार अघि बढौँ र प्रचण्ड नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर विश्वासको मत मागेको हुँ ।’
उसो त बिहीबार मात्रै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि देउवालाई धम्बाराहीमा पुगेर भेटेका थिए । यादवले पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेको कांग्रेसका नेताहरूको भनाइ छ । सो क्रममा यादवले आफ्नो पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने र सबै मिलेर अघि बढ्दा नै राम्रो हुने धारणा राखेका थिए ।
यस्तै प्रस्ताव माओवादीका नेताहरूबाट कांग्रेसका दोस्रो तहका नेताहरूसम्म पनि पुगेपछि उनीहरू छलफलमा जुटेका छन् । स्रोतका अनुसार बिहीबार अपराह्न कांग्रेसका दोस्रो तहका नेताहरू ललितपुरको जावलाखेलस्थत एक घरमा बैठक बसेका छन् । सो बैठकमा माओवादीको प्रस्ताव आइसकेपछि कसरी अघि बढ्ने भनेर छलफल भएको बुझिएको छ । उसो त देउवाले आजै आफू निकटस्थ शीर्ष नेताहरुसँग पनि यसबारे परामर्श गरेको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदबाट विश्वासको मत लिने कार्यक्रम छ । स्मरण रहोस्, कांग्रेस नेतृत्वको अघिल्लो गठबन्धनमा प्रधानमन्त्री नपाउने अवस्था बनेपछि प्रचण्डले एकाएक एमालेसँग सहकार्यको हात फैलाएका थिए ।                              source ratopati.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्