‘ड्राइभर सर्भिस फर केयर’ मार्फत गाडीधनी र ड्राइभरलाई जाेड्ने श्रेष्ठको आइडिया उत्कृष्ट

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। काठमाडौंका रबिन श्रेष्ठ सवारी चालक हुन्। उनी १० वर्षदेखि गाडी चलाउने पेसामा आबद्ध छन्। उनले विभिन्न एनजीओ, आइएनजीओ तथा संघसंस्था र विभिन्न व्यक्तिका निजी गाडी चलाइसकेका छन्। यति मात्र हाेइन उनले गाडी चलाउने काम पनि दिन्छन्। उनले सवारी चालक चाहिएका गाडीवालालाई सवारी चालक र गाडी चाहिएका सवारी चालकलाई गाडी चलाउने कामसमेत दिइरहेका छन्।

‘ड्राइभर सर्भिस फर केयर’ कम्पनीमार्फत उनले पाँच वर्षदेखि यस्तो काम गर्दै आएका छन्। गाडी चलाउँदै गर्दा उनले गाडी ड्राइभरहरूले कामको खोजीमा भौतारिएको अवस्था देखे। साथै गाडीवालाहरूले पनि दक्ष ड्राइभरहरूको खोजी गरिरहेको र ड्राइभर नपाउने गरेको अवस्था पनि भेटे।

यस अवस्थाबाट उनको मनमा गाडीवाला र ड्राइभरलाई जोड्न सकेमा दुवैको समस्या घट्ने सोच बनाए। त्यसपछि उनले पाँच वर्ष अगाडिदेखि यो कामकाे थालनी गरे। अहिले उनको यही आइडियाबाट सयौंले खोजेको जस्तो ड्राइभर पाएका छन् भने धेरै ड्राइभरले गाडी चलाउने काम पाएका छन्।

उनले आफ्नो वेबसाइट, फेसबुक पेज, तथा इमोलगायतका एप प्रयोग गरेर दुवै पक्षको आवश्यकतालाई पूरा गर्ने काम गर्दै आएका छन्। लामो समय र छोटो समयका लागि ड्राइभर आवश्यक भएकाहरूलाई ड्राइभर उपलब्ध गराउने काम श्रेष्ठले ड्राइभर सर्भिस फर केयरमार्फत गरिरहेका छन्। उनले काठमाडौंभित्र तथा बाहिर विभिन्न ठाउँमा तथा कलेज, स्कुललगायतका अन्य संघसंस्थामा धेरै ड्राइभरलाई सम्पर्कमा ल्याएर सेवा उपलब्ध गराइसकेको छन्।

‘मैले पहिले पनि अरूको गाडी चलाउथे अहिले पनि अरूको गाडी नै चलाउछु,’ श्रेष्ठले भने ‘मैले गाडी चलाउदा चलाउदै यो आइडिया आयो। त्यसपछि मैले मेरो यो आइडियालाई इन्टरनेटको प्रयोग गरेर एउटा प्लेटर्फम तयार गरेको हुँ।’ उनले आफूले गाडी चलाउने कामको अतिरिक्त यो आइडियाको रूपमा काम गर्दा आफूलाई आर्थिक रूपमा पनि सहजता मिलेको बताए।

श्रेष्ठका अनुसार चारदेखि पाँच सय ड्राइभरहरू गाडी चलाउने कामको खोजीमा उनको सम्पर्कमा रहेका छन् भने केही सिमित व्यक्ति तथा संस्थाहरू ड्राइभरको खोजी गर्दै उनीसँग जोडिइरहेका छन्। उनले धेरै व्यक्तिलाई आफ्नो यस प्लेटफर्ममार्फत रोजगारी दिलाएका छन् भने कामदार आवश्यक परेकालाई कामदार उपलब्ध गराएका छन्। उनी गाडीवाला र गाडी चालकको सिप भएकाबीचमा पुलको काम गर्न पाउँदा खुसी लागेको र यस व्यवसायलाई थप बढाउने आकांक्षा भएको बताउँछन्।

व्यवसाय केही महँगो किसिमको देखिए पनि गुणस्तरीय भएको उनको भनाइ छ। तर यसबाट जोडिएका व्यक्तिहरूबाट गुनासो आउने भन्दा पनि अधिकांशले तारीफ गर्ने गरेको उनले बताए। उपत्यकाभित्र तथा बाहिरका विद्यालय, क्याम्पस, कार्पोरेट, घरलगायत क्षेत्रका लागि थप दक्ष र इमान्दार चालक उपलब्ध गराउने प्रतिबद्धता उनकाे छ। उनको यो आइडिया आइडिया स्टुडियो सिजन–६ को उत्कृष्ट आइडियामा पर्न सफल पनि भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्