राप्रपा कास्कीले मनायो विरेन्द्र जयन्ती, सांसदलाई सम्मान

समाचार बिज
  • ख-
  • ख+

पुष १४राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले राजा विरेन्द्र शाहको ७७ औं जन्मजयन्ती मनाएको छ । राजा विरेन्द्रको जन्मजयन्तीका अवसरमा उनको तस्वीरमा माल्यार्पणसहित प्रवचन कार्यक्रम र साँझ दिपावली गरेको छ ।पोखरा स्थित राप्रपा कास्कीको कार्यालयमा भएको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताले राजा विरेन्द्रको तस्वीरमा माल्यार्पण गरेका थिए । सो अवसरमा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरुले राजा विरेन्द्र देशभक्त र शान्तिप्रेमी रहेको भन्दै उनको योगदानको स्मरण गरेका थिए । उनको जन्म विक्रम संवत २००२ पुष १४ गते भएको थियो ।राजा विरेन्द्रको अकालमा हत्या नभएको भए देशको स्थिति अहिलेको जस्तो नाजुक नहुने उनीहरुले तर्क गरेका थिए । उनीसहित सपरिवारको २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा हत्या भएको थियो । उक्त हत्याकाण्ड अहिले पनि रहस्यमै छ ।राजा विरेन्द्रको स्मरणमा राप्रपाले बिहिबार साँझ वीरेन्द्रचोक रामबजारमा दीप प्रज्वलनसमेत गरेका थिए । सो अवसरमा राप्रपा कास्कीले वीरेन्द्रचोकमा राजा विरेन्द्रको शालिक पुननिर्माण गर्न सघाउने निर्णय पनि गरेको छ । शालिक निर्माण समितिसँग सहकार्य गरेर यथाशीघ्र राजा वीरेन्द्रको शालिक बनाउने निर्णय गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए ।राजा वीरेन्द्रको जन्मजयन्तीकै अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशमा राप्रपाबाट समानुपातिक सांसद निर्वाचित सांसदद्धय पञ्चराम गुरुङ र बिन्दु पहाडीलाई सम्मानसमेत गरेको छ । गुरुङ राप्रपाका गण्डकी अध्यक्ष हुन् भने पहाडी केन्द्रिय सदस्य हुन् । कार्यक्रममा विवेकशील साझा पार्टीबाट राप्रपामा समाहित भएर केन्द्रिय सदस्य चुनिएका अर्जुन खनाल, सुशिला केसी अधिकारी र माधव भण्डारीलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित सांसद गुरुङले देश र जनताका हितमा इमान्दार भएर काम गर्ने प्रतिवद्धता जनाए । राप्रपाका एजेण्डा स्थापित गर्न लागिपर्ने भन्दै उनले जनताका पीरमर्का संसदमा पु¥याउन भूमिका खेल्ने बताए ।
यस्तै, अर्का सांसद पहाडीले पार्टी नीतिमा रहेर जनताका पक्षमा खरो उत्रने बताइन् । विगतमा सर्वस्वहरण हुँदासमेत पार्टीका पक्षमा अडिग रहेको भन्दै उनले अब संसदमा देश र जनताका पक्षमा पार्टीले उठाएका मुद्धा उठाउने प्रतिवद्धता जनाइन् ।
राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले अहिलेको दुषित राजनीतिमा राजा विरेन्द्रको अभाव खड्किएको बताए । नवनिर्वाचित सांसदलाई शुभकामना दिँदै उनले गण्डकीका सबै जिल्लासँग समन्वय गरेर अघि बढ्न सांसदलाई सुझाव दिए ।
कार्यक्रममा केन्द्रिय सदस्यहरु जयलाल पुन, विष्णुप्रसाद पोखरेल, महेन्द्रबहादुर कार्की लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम राष्ट्रिय प्रजातान्त्रिक भूपू सैनिक संगठन कास्की र राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन कास्कीको समन्वयमा सम्पन्न भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्