डिल भाँडिएपछि नेपाल ब्रुअरीमा आफैं लगानी विस्तार गर्दै गैरआवसीय नेपाली भवन भट्ट

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। बियर कम्पनी बिक्रीको डिल भाँडिएपछि गैरआवासीय नेपाली भवन भट्ट आफैंले लगानी थप्ने भएका छन्। उनको टीबीआइ समूह नेपाल ब्रुअरी कम्पनी बेच्ने प्रक्रियाबाट हालका लागि पछि हटेको हो।

कम्पनी बेच्ने प्रक्रिया थाती राखेको समूहले तीन अर्ब रुपैयाँ लगानी थपेर क्षमता र ब्रान्ड विस्तार गर्ने भएको छ। कम्पनीमा प्लान्टसँगै बियरका दुईवटा ब्राण्ड थप्ने निर्णयमा भट्ट पुगेका छन्। लगानी थपिएसँगै नेपाल ब्रुअरीको उत्पादन क्षमता पनि बढ्नेछ।

भट्टको टीबीआइ समूहले स्वामित्व लिएको करिब डेढ दशकपछि नेपाल ब्रुअरीको उत्पादन क्षमता विस्तार हुन लागेको हो।

‘नेपाली नामको बियर ब्राण्डलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने उद्देश्यले नेपाल ब्रुअरी बिक्री योजनालाई बिराम गरेका हौं। एक त यो नेपालकै पहिलो ब्रुइङ कम्पनी हो। कम्पनीको लिगेसीलाई नै निरन्तरता दिने उद्देश्यले हामीले ब्राण्ड भ्यालुदेखि प्लान्ट र लगानी विस्तारलाई अगाडि बढाएका हौं,’ भट्टले बिजमाण्डूसँग भने।

हाल हेटौंडा औद्योगिक क्षेत्रमा रहेको प्लान्टबाट कम्पनीले स्टार, शेर्पा लगायत ब्राण्डका बियर उत्पादन गरिरहेको छ। प्रति महिना ६० हजार केस बियर उत्पादन गर्दै आएको कम्पनीले क्रमिक रुपमा क्षमता १० लाख केस प्रति महिना पुर्‍याउने तयारी गरिरहेको उनले जानकारी दिए। सुरुवाती चरणमा डेढ अर्ब लगानी गर्ने योजनासहित कम्पनीले मासिक १० लाख केस बियर उत्पादनका लागि थप डेढ अर्ब रुपैयाँ लगानी गर्ने  भट्टले जानकारी दिए।

हाल चारैवटा ब्राण्ड गरी कम्पनीले मासिक ६० हजार केस उत्पादन गर्दै आएकोमा नयाँ प्लान्ट संचालनमा आएसँगै उत्पादन क्षमता मासिक करिब तीन लाख केस पुग्ने बताइएको छ। कम्पनीले मासिक १० लाख केस बियर उत्पादन गर्न अनुमति पाएको छ।

कम्पनीले नयाँ प्लान्ट विस्तार गर्न देशका विभिन्न ठाउँमा सम्भावित अध्ययन सुरु गरेको बताउँदै उनले भने,’हामी नयाँ प्लान्ट संचालनमा ल्याएर क्षमता विस्तार गर्ने योजनामा छौं। अहिले हेटौंडा औद्योगिक क्षेत्रबाट उत्पादन वितरण गर्दै आएका छौं। नयाँ प्लान्टका लागि ठाउँको सम्भाव्यता अध्ययन सुरु गरिसकेका छौं। आँबुखैरेनी, चितवन, परासी लगायत क्षेत्रबारे सोचिरहेका छौं,’ भट्टले भने,’यता सिमरामा २२ बिघा जग्गा लिइसकेका छौं। यो जग्गा हामीले हाम्रो उत्पादन विदेश निर्यात गर्न उद्योग लगाउन किनेका हौं। तर नेपाली बजारलाई प्राथमिकता दिनुपर्दा पहाडी क्षेत्रमा प्लान्ट राख्न जग्गा खोजिरहेका छौं।’

नयाँ प्लान्टबाट कम्पनीले हाल उत्पादन गर्दै आएको ब्राण्डसँगै यती र सांग्रिला ब्राण्डको बियर उत्पादन गर्नेछ। अहिले यती ब्रुअरीले यती बियर बिक्री गरिरहेको छ। अहिले यती ब्रुअरीले यती ब्राण्डमै बजारमा बियर बिक्री गरिरहेको छ। आफूले उत्पादन गर्ने तयारी गरेको यती ब्राण्डसँग नाम मिल्न गएपनि नेपाल ब्रुअरीले यो नाम अगाडि नै दर्ता गरेका कारण कुनै समस्या नपर्ने दाबी भट्टको छ।

‘स्टार बियरलाई नेपाली बियर भनेर चिन्न अलिक गाह्रै छ। स्टारसँगै शेर्पा र सांग्रिलाको उत्पादन विस्तार गरेर आन्तरिक बजार प्रतिस्पर्धासँगै अन्तर्राष्ट्रिय बजारमा जाने व्यवसायिक योजना बनाएका छौं,’ भट्टले भने,’यती र सांग्रिला ब्राण्ड नेपाली नाममा आधारित रहेका कारण अन्तर्राष्ट्रिय बजारमा यी ब्राण्डको माग राम्रो हुने हामीले देखेका छौं।’

सन् १९६४ जनावरीमा स्थापना भएको नेपाल ब्रुअरीको पहिलो उत्पादन स्टार बियर थियो। सन् १९७२ बाट कम्पनीले जर्नी प्रविधिबाट बियर उत्पादन सुरु गरेको थियो। सन् १९९७ मा यो कम्पनी भारतको युनाइटड ब्रुअरी समूहले किनेको थियो।

युनाइटेडको स्वामित्वमा कम्पनी आएसँगै किङफिसर प्रिमियम, चियर्स सुपर स्ट्रङ, स्टार गोल्ड स्ट्रङ प्रिमियम लगायत बियर उत्पादन भएको थियो।

सन् २००८ बाट भवन भट्टको टीबीआइले युनाइटेड ब्रुअरीको शतप्रतिशत स्वामित्व किनेको थियो। पछिल्लो पटक भट्टले समेत कम्पनी बिक्री गर्ने तयारी गरेका थिए। तर, खरिदबिक्री प्रक्रिया भाँडिएपछि भट्ट आफैं बियर उद्योग चलाउने निर्णयमा पुगेका छन्।

source bizmandu.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्