मिटर नराखी सडक बत्ती बाले कारबाही गर्ने प्राधिकरणको चेतावनी

समाचार बिज
  • ख-
  • ख+

६ पुस, काठमाडौ । नेपाल विद्युत प्राधिकरणले ४५ दिनभित्रै सबै सडक बत्तीहरुको मिटर राख्न स्थानीय तहरुलाई सूचित गरेको छ । बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले स्थानीय तहरुलाई विना अनुमति प्राधिकरणले बिजुलीको प्रयोग गरेर सडक बत्ती नजोड्न भनेको छ ।

सहमति नलिई आफूखुसी सडक बत्ती जडान गर्ने क्रम बढेको भन्दै प्राधिकरणले सडक बत्तीको विद्युत शक्तिको मापन र विद्युत खपतपछिको महसुल भुक्तानीमा झमेला आएर नोक्सानी व्यहोर्नु परेको बताएको छ ।

सबै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई प्राधिकरणले सडक बत्तीको महसुलको भुक्तानी यथाशीघ्र गर्न अनुरोध गरेको छ । त्यसैगरी वितरण केन्द्रहरुबाट अनुमति लिएर मात्रै सडक बत्ती जडान गर्न र जडान भइसेकका सडक बत्तीको बिजुली खपत मापन गर्न ४५ दिनभित्रै बिजुली मिटर राख्न समेत सूचित गरेको छ ।

प्राधिकरणले सडक बत्तीका लागि सिंगल फेज मिटर उपलब्ध गराउने भएको छ । एउटा मिटरबाट १०० वाट क्षमताका ५० भन्दा बढी सडक बत्तीको मापन गर्न सकिने छ ।

प्रत्येक सडक बत्तीलाई छुट्टै मिटर उपलब्ध गराउन नसकिने भन्दै प्राधिकरणले वितरण केन्द्रसँग समन्वय गरेर केबल तानेर सडक बत्ती बाल्न निर्देशन दिएको छ । नियमअनुसार सडक बत्ती नजोडेर महसुल नतिरेमा कारवाही गर्ने प्राधिकरणको चेतावनी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्