पोखराको ग्राउण्ड ह्‍याण्डलिङका लागि एनएसीले सुरु गर्‍यो तयारी, २० करोड लाग्ने

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्‍याण्डलिङ सेवाका लागि नेपाल वायुसेवा निगमले तयारी गरिरहेको छ। आगामी शनिबारदेखि उपकरण सेटअप सुरु गर्ने तालिका निगमले बनाएको छ। पोखराको नयाँ विमानस्थलमा निगमले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग हुँदै आएको उपकरणको प्रयोग गर्ने एक कर्मचारीले बताए। ‘हामीले पोखराको ग्राउण्ड ह्‍याण्डलिङका लागि योजना तयारी गरिसकेका छौं। सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग हुँदै आएको उपकरण नै प्रयोग गछौं,’ उनले भने, ‘पछि यात्रु र उडान मागका आधारमा उपकरण विस्तार गर्नै जानेछौं।’

उनका अनुसार ग्राउण्ड ह्‍याण्डलिङ सेवाका लागि निगमको करिब २० करोड रुपैयाँ लागत आउने अनुमान छ। यसका लागि निगमले १० जना कर्मचारी परिचालन गर्ने उनले जानकारी दिए। सुरुवाती चरणमा निगमले एउटा उडान-अवतरणलाई प्रभाव नपर्ने किसिमले तयारी गरेको उनले बताए।

यसका लागि निगमले पुस ब्याक, भर्‍याङ, बेल्ट लोडर्स, र्‍याम्प टेक्निकल ह्‍याण्डलिङ, ग्राउण्ड पावर युनिट लगायत उपकरण सडक र हवाई यातायातमार्फत पोखरा पुर्‍याउने तयारी छ।

पोखराको ग्राउण्ड ह्‍याण्डलिङको जिम्मा पाएसँगै निगमको यो सेवा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुनेछन्। यसअघि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ५० प्रतिशत छुटमा ग्राउण्ड ह्‍याण्डलिङ सेवा दिँदै आएको निगमले पोखरामा पनि यही प्रावधान अन्तर्गतको सेवा दिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

पोखराको नयाँ विमानस्थल अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन पारेर पुस १७ देखि सञ्चालनमा ल्याउने मिति पूर्वघोषित नै छ। तर यो नयाँ विमानस्थलबाट आफूले अन्तर्राष्ट्रिय उडान थाल्न भने निगमले तयारी गरिसकेको छैन। भैरहवाबाट गर्न लागेको अन्तर्राष्ट्रिय उडानको तयारी पुरा भए लगत्तै पोखराका लागि गृहकार्य थाल्ने निगमले जनाएको छ।

जनवरी १ बाट नियमित संचालनमा ल्याउने भनिएको पोखरा विमानस्थलबाट आन्तरिकतर्फ बुद्ध, यती, श्री, सौर्य, गुण लगायतका वायुसेवाले उडानको गृहकार्य गरिरहेका छन्। अन्तर्राष्ट्रियतर्फ बुद्ध र हिमालयले आफ्नो तयारी सुरु गरिसकेको जनाएका छन्।

क्यानसहित विभिन्न निकायमा चाहिन्छ धेरै जनशक्ति

पोखराको नयाँ विमानस्थल सञ्चालनमा आउँदा धेरैले रोजगारी पाउने भएका छन्।

विमानस्थल संचालनका लागि नागरिक उड्डयन प्राधिकरणसँगै विभिन्न निकायका तीन हजार कर्मचारी परिचालन हुने विमानस्थल प्रमुख विक्रम गौतमले बताएका छन्। उनका अनुसार प्राधिकरणबाट मात्र १ सय ५० जना कर्मचारीको दरबन्दी छ।

यसैगरी नेपाली सेना, नेपाल प्रहरी, भन्सार, विशेष प्रहरी, वायुसेवा कम्पनी, अध्यागमन, स्वास्थ्य, आयल निगम, गोदाम तथा पारवाहन लगायत अन्तर्गत करिब तीन हजार प्रत्यक्ष-परोक्ष कर्मचारीको सहभागिता रहने उनले बताए।

‘हामीलाई आवश्यक पर्ने दस्तावेजको काम अगाडि बढिरहेको छ। विमानस्थल प्रमाणीकरणका लागि ६ जनाको समूहले काम गर्दै आएको छ। मेकानिकल, एयर फ्लाइट मेनेजमेन्टको तालिम भइरहेको छ,’ उनले भने, ‘आजै यो विमानस्थलको सुरक्षा समितिको पहिलो बैठक बस्दै छ।’ विमानस्थलका लागि आवश्यक पास छपाइको काम मंगलबारदेखि सुरु हुने उनले जानकारी दिए।

चिनियाँ ऋण लगानीसहित २२ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको यो विमानस्थलमा न्यारोबडी सिरिजसम्मका जहाज उडान संचालन हुने जनाइएको छ। विमानस्थलबाट क्षेत्रीय स्तरका वायुसेवाहरु सेवा स‌ंचालनका लागि जोडिने विश्वास गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्