विनोद चौधरीले युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर खरिद गरे

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं। नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर खरिद गरेका छन्।  युनियन बैंक अफ कोलम्बोको मेजर सेयर होल्डर कल्चर फाइनान्सियल होल्डिङ्स प्रालि र चौधरीको प्राइभेट इक्विटी फर्म सीजी क्यापिटल पार्टनर ग्लोबल प्रालिबीच स्वामित्त्व हस्तान्तरणको सम्झौता भएको छ।

दुई पक्षबीच नोभेम्बर ३० मा सम्झौता भए पनि हिजो आइतबार मात्र नियामकलाई जानकारी गराइएको छ।

कल्चर फाइनान्सियल होल्डिङ्स प्राइभेट लिमिटेडको एक्लो माउ कम्पनी टीपीजी एसिया (vi) एसएफ प्रालिले सो निर्णय गरेको हो। टिपीजी एसिया vi एसएफ प्रालि सिंगापुरस्थित एसेट म्यानेजमेन्ट कम्पनी हो। कम्पनीले कल्चर फाइनान्सियल होल्डिङ्स प्रालिको नाममा युनियन बैंक अफ कोलम्बोको ७०.८४ प्रतिशत स्वामित्व राखेको थियो।

सोही स्वामित्त्व अर्बपति चौधरीको प्राइभेट इक्विटी फर्म सीजी क्यापिटल पार्टनर ग्लोबल प्रालि खरिद गर्न जाँदै छ। सीजी क्यापिटल पार्टनर्स चौधरीको सीजी कर्प ग्लोबल र एनई ग्रुपबीच सिंगापुरमा रहेको संयुक्त लगानीको निजी इक्विटी कम्पनी हो।

बैंक कोलम्बो स्टक एक्सचेन्जमा पनि सूचीकृत छ। श्रीलंकन एक्सचेन्जको नियामकको स्वीकृतिको पर्खाइमा दुवै पक्ष बसेका छन्। २०२२ को तेस्रो त्रैमासको तथ्यांक अनुसार बैंकको चुक्ता १६ अर्ब ३३ करोड ४७ लाख ८२ हजार श्रीलंकन रुपैयाँ छ। कुल एक अर्ब ८ करोड ३५ लाख कित्ता सेयर सूचीकृत छ।

जसमध्ये ७६ करोड ७५ लाख ५८ हजार कित्ता कल्चर फाइनान्सियल होल्डिङ्स प्राइभेट लिमिटेडको हो। यो कुल स्वामित्त्वको ७०.८४ प्रतिशत हो। सोही चौधरीको कम्पनीले किनेको हो। कतिमा खरिद बिक्री भएको भन्ने खुलाइएको छैन। बैंकको २९.१६ प्रतिशत स्वामित्त्व सर्वसाधारणको हो।

२०१४ मा, टीपीजी एसियाले युनियन बैंकको ७०.८४ प्रतिशत सेयर ११३ मिलियन अमेरिकी डलरमा किनेको थियो। हाल बैंकको प्रति कित्ता ८ श्रीलंकन रुपैयाँमा किनबेच हुँदैछ।

विनोद चौधरीको परिवारको प्रमुख लगानीमा नेपालमा नबिल बैंक छ। बैंकले केही समयअघि नेपाल बंगलादेश बैंक खरिद गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्