कम्मरैमा कटुकी कसेर,
मुसुमुसु हाँसेकी बसेर,
रुकुम मैकोट,
आँखा नि राम्रै हो, मन पर्यो नि ओठ !
माथि उल्लेखित यो अंश बिहीबारदेखि प्रदर्शनरत फिल्म ‘खुस्मा’मा समावेश ‘रुकुम मैकोट’ गीतको हो । एक महिनाअघि युट्युबमा सार्वजनिक भएको यो गीत लगभग २ सातादेखि नेपालको म्यूजिक सेक्सन अन्तर्गत ट्रेन्डिङको पहिलो नम्बरबाट डगमगाएको छैन । यसमा सयौं टिकटक, रिल्स र शर्टस् बनिसेकका छन् । गीतको लोकप्रियताको फाइदा ‘खुस्मा’को व्यापारमा पनि पुगिरहेको छ ।
यसैबीच, ‘रुकुम मैकोट’ गीतलाई अर्को सफलता मिलेको छ । यो गीत युट्युबको ‘ग्लोबल ट्रेन्डिङ’मा परेको छ । युट्युबको म्यूजिक ग्लोबल चार्टमा यो गीत ७३औं स्थानमा छ । ‘ग्लोबल ट्रेन्डिङ’मा पर्ने यो पहिलो नेपाली फिल्मको गीत हो । अघिल्लो हप्ता ‘कश्मीरे पछ्यौरी’ गीत पनि युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्न सफल भएको थियो । ग्लोबल ट्रेन्डिङमा आउनु भनेको विश्वभर नै रुचाइनु हो ।
‘रुकुम मैकोट’ गीतमा युट्युब रिलिजको एक साता खासै भ्यूज थिएन । जब टिकटक जस्ता प्लेटफर्महरुमा गीत रुचाइयो, त्यसपछि एक महिना पनि नपुग्दा गीतले युट्युबका एक करोड भ्यूज नघायो । यो समाचार तयार पार्दासम्म गीतलाई १ करोड ३६ लाखभन्दा बढीले युट्युबमा हेरिसकेका छन् । गीतको चर्चा अझै चुलिँदो छ । यसले कम्तीमा तीन करोड भ्यूज नघाउने आँकलन गरिएको छ ।
अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले नृत्य गरेको यस गीतमा एसडी योगीको संगीत छ भने सुरेन्द्र रानाको शब्द तथा एसडी योगी र शान्तिश्री परियारको संगीत छ । यो गीत अडियोका कारण चलेको हो । मीठासपूर्ण शब्द र कर्णप्रिय गायन तथा संगीतका कारण दर्शकले गीत रुचाएका हुन् । यस वर्ष ‘बोक्सीको घर’को ‘बुझिनँ मैले’पछि सर्वाधिक चलेको फिल्मी गीत यही हो ।
‘रुकुम मैकोट’ गीतकै कारण प्रदर्शनअघिदेखि नै चर्चामा रहेको ‘खुस्मा’ले इनिसियल व्यापार राम्रो गरेको छ । विशेषगरी बिहीबार र शनिबारको विदामा फिल्मप्रति दर्शकको आकर्षण उत्साहजनक देखिएको छ । निर्माण टिमको दाबीअनुसार तीन दिनमा फिल्मले २ करोड ५५ लाखको व्यापार गरेको छ । यो फिल्मले सशस्त्र द्वन्द्वको प्रभावका बीच अंकुराएको प्रेमकथालाई प्रस्तुत गरेको छ ।