यती एअरलाइन्सको योजना: २ वर्षभन्दा मुनिका बालबालिकालाई निःशुल्क उडान

समाचार बिज
  • ख-
  • ख+

यती एअरलाइन्सले २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाई भाडा निःशुल्क गर्ने घोषणा गरेको छ ।

सामाजिक सञ्जालहरुमार्फत ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै शिशुहरुलाई यतीले हवाई भाडा शतप्रतिशत छुट गर्ने घोषणा गरेको हो ।

हरेक बालबालिकाले आफ्नो जीवनको पहिलो उडानको अनुभव यती एअरलाइन्स मार्फत नै सुरुवात होस् भनेर यो योजना ल्याइएको यती एअरलाइन्सले जानकारी दिएको छ । हाल एअरलाइन्सहरुले २४ महिनासम्मका शिशुहरुको उडानमा सेवा शुल्क लिंदै आएका छन् ।

यात्रुहरुलाई सुखद उडान यात्राको अनुभव दिन बच्चाहरुको हवाई भाडामा शतप्रतिशत छुट गरिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार हाललाई यो योजना नेपाली र विदेशी सबै शिशुहरुका लागि बैशाख १, २०८१ देखि सीमित समयको लागि लागू गरिएको छ ।

यो सुविधा लिनका लागि यात्रा गर्दा अभिभावकहरुले यती एअरलाइन्सको चेक—इन काउण्टरमा आफ्नो बच्चाको जन्मदर्ता अनिवार्य रुपमा देखाउनु पर्नेछ । यतीले बालबालिका, वृद्ध र फरक क्षमता भएका यात्रुहरुका लागि विशेष काउण्टरमार्फत सेवा दिँदै आइरहेको छ ।

हाल यती एअरलाइन्सले ७ वटा एटिआर–७२ विमानमार्फत दैनिक ६५ भन्दा बढी उडान गरी ४००० भन्दा धेरै यात्रुहरुलाई सेवा दिंदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्