महजोडीको नामले चर्चित वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशक पछि अष्ट्रेलियाको एडिलेडको मञ्चमा दर्शक माझ भव्य प्रस्तुति दिएका छन् ।
मह जोडीको साथमा वरिष्ठ कलाकार नरेन्द्र कंसाकार,किरण केसी कुन्ती मोक्तान र शिला बहादुर मोक्तान लगायतका कलाकार पनि मनोरञ्जन र सांस्कृतिक प्रस्तुति दिएका थिए । स्थानीय कलाकारहरूको नृत्यबाट सुरु भएको कार्यक्रममा वरिष्ठ गायिका कुन्ती मोक्तानले आफ्नो चर्चित गीतहरू प्रस्तुत गरेकी थिइन्। साथै स्थानीय लोकगायक मेक्सम खातीले पनि आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा बहुचर्चित व्यक्तित्व मदनकृष्ण श्रेष्ठ मञ्चमा प्रवेश हुँदा सबै दर्शकहरुले उठेर उहाँलाई सम्मान गरेका थिए। दर्शक आफ्नो भगवान भएको भन्दै श्रेष्ठले पनि दुवै हात जोडी दर्शकलाई शिर निउराएर सम्मान गर्नुभएको थियो । वरिष्ठ कलाकार श्रेष्ठले आफ्नो प्रस्तुति दिनु अघि आफ्नो स्वास्थ्य स्थितिबारे दर्शकलाई जानकारी दिनुभएको थियो। उनले भनेका थिए; उमेर पनि बुढो भयो, त्यसमाथि पार्किन्सनको बिरामी छु, खुट्टा अगाडि बढाउन निकै गाह्रो हुन्छ , यहाँहरूको आशीर्वाद र मायाले गर्दा साहस बटुलेर यहाँसम्म आइपुगेको छु।
महजात्रामा यस पटक मदनकृष्ण हरिवंशको जोडीले ‘होलबडी चेकअप’ र हरिवंश आचार्यको उपाध्याय मम सेन्टर प्रहसन गरेका थिए ।’होलबडी चेकअप’ देशको आर्थिक, सामाजिक परिवेशममा केन्द्रित रही नागरिकको स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा देखिएको लापरबाहीबारे व्यंग्य गरिएको थियो । उक्त हाँस्यव्यंग्यमा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य ,किरण केसी ’राता मकै’, नरेन्द्र कंसाकार लगायतका कलाकारको बेजोड प्रस्तुति रहेको थियो ।
कार्यक्रमको संचालन सवा डिसी न्यौपाने र प्रेरणा ढुंगानाले गरेका थिय।