
काठमाडौं। चौधरी ग्रुपले प्रवर्द्धन गरेको ‘मिडिल मोदी जलविद्युत् आयोजना’ निर्माणको काम सकिएको छ। १८ मेगावाट क्षमताको परियोजनाले निर्माणका काम पूरा भएर परीक्षण उत्पादन थालेको छ।
मध्य-मोदीबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ। १५ दिन परीक्षण उत्पादनपछि नियमित उत्पादन शुरू हुने चौधरी ग्रुपले जनाएको छ।
मिडिल मोदी चौधरी ग्रुपको पहिलो लगानी रहेको विद्युत परियोजना हो। जलविद्युत् उत्पादनमा प्रवेश गर्ने ग्रुपको दशक पहिलेको योजना कार्यान्वयनमा सम्बन्धित निकायबाट सहयोग नभएपछि प्रवेशमा केही ढिलाई भएको जारी विज्ञप्तिमा उल्लेख छ।
ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बिजुलीको अत्यधिक खपत हुने ड्राई सिजनमा आयोजना सकिएर केन्द्रीय प्रसारणलाइनमा जोडिएको बताउँदै आर्थिक विकासका लागि पूर्वाधारहरूमा गरिने लगानीले निकै महत्त्वपूर्ण अर्थ राख्ने जानकारी दिए। उनले ग्रुपले अन्य जलविद्युत् आयोजनामा पनि काम गरिरहेको बताए।
पर्वतको मोदी गाउँपालिका–२ केङ्गामा पावरहाउस निर्माण गरिएको आयोजनाको बाँध कास्कीको अन्नपूर्ण गाउँपालिका–३ वीरेठाँटीमा छ। यस आयोजनामा २ हजार ३ सय ९३ मिटर लामो सुरुङमार्फत् मोदी खोलाको पानी खसालिएको छ।